आज बुद्ध जयन्ती, लुम्बिनीमा २५६४ दीप प्रज्वलन गरिदैं


आज बुद्ध जयन्ती, लुम्बिनीमा २५६४ दीप प्रज्वलन गरिदैं

File Photo

नेपालगन्जः आज २५६४ औं बुद्धजयन्ती । नेपाल सहित विश्वभर विविध कार्यक्रम गरि मनाइदैछ । तर, नेपालमा सरकारले लगाएको लकडाउन र सामाजिक दूरीका कारण यस वर्षको बुद्ध जयन्ती प्रभावित बनेकोछ ।

कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितका कारण सरकारले २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम स्थगित गरेकोछ ।

आज वैशाख शुक्ल पूर्णिमा तथा बौद्ध जयन्ती मनाइँदैछ । तर, प्रस्तावित लुम्बिनी प्रदेशको लुम्बिनी विकास कोषले यस दिन पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको जनाएकोछ ।

आज नेपाल सरकारबाट कोभिड–१९, रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशनअनुसार सामाजिक दूरी कायम गर्दै बौद्ध भिक्षु तथा भिक्षुणी एवम लामा गुरु/गुरुमाहरूबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना र पूजा मात्र गरिनेछ ।

कोरोनाका कारण पूर्वनिर्धारित सवै कार्यक्रम स्थगित भएपछि आज भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा २५६४ वटा दीप प्रज्वलन गरिदैँछ । गौतम बुद्ध जन्मस्थल लुम्बिनिमा आज बेलुका २५६४ वटा दीप प्रज्वलन गरिने भएको हो ।

कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आहृवान समेत यसअघि गरिसकेकोछ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो । तर, पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित संख्या एकाएक बढेपछि थप सजगता अपनाउदै यस्तो निर्णय गरिएको हो ।

हालसम्म नेपालमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन । यद्यपी नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम भने यथावत रहेकोछ । लकडाउन र सामाजिक दूरीको पूर्ण पालना गर्नु नै यसको प्रकोपबाट बच्नु हो ।