जीविकोपार्जनतर्फ चिडिमार


जीविकोपार्जनतर्फ चिडिमार

फाईल फोटो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–१२ मा बसोबास गर्दै आएका सीमान्तकृत चिडिमार (चरा मार्ने) समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगन्जमा चरा मार्ने जाति भनेर चिनिने चिडिमार सीमान्तकृत समुदायमा पर्छ । नेपालगन्ज–१२ चिडिमार समुदायको पुरानो थलो हो । पछिल्लो समय चिडिमार समुदायका व्यक्ति पनि चरा मार्न छाडेर अरु पेशा व्यवसाय गरेर जीविकोपार्जन गर्न थालेका छन् ।

चिडिमार भनेर चिनिए पनि अहिले त्यो समुदायका व्यक्तिले केही न केही व्यवसाय गरिरहेका छन् । अर्काको मजदूरी गरेर होस् वा ससानो व्यापार गरेर आफ्नो घर खर्च चलाइरहेका छन् । आफ्नो बारीको अन्नले मात्र खान नपुग्ने हुँदा उनीहरूले मजदूरी गरेर खान लाउन र बालबालिकाको अध्ययन खर्च पुर्याउने गर्दछन् । चिडिमार समुदायको मुख्य समस्याका रूपमा बालविवाह पनि रहेको छ तर अहिले बालविवाह रोक्न वडा कार्यालयबाट केही सार्थक प्रयास पनि थालिएको छ ।

‘बाल विवाह रोक्न हामीले जनचेतना, बालबालिकालाई विद्यालय भर्ना गराउने, अभिभावकसँग अन्तरक्रियालगायतका कार्यक्रम गर्दै आएका छौँ,’ वडाध्यक्ष विद्यासागर सुवेदीले भने । केही समयअघि वडा कार्यालयले चिडिमार समुदायका दुई बालबालिकालाई विद्यालय र कलेजस्तरीय शिक्षा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराएको अध्यक्ष सुवेदीले बताए । चिडिमार समुदाय शिक्षाको पहुँचबाट धेरै पछाडि छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायको प्रयास र प्रयत्नबाट अहिले यो समुदायका बालबालिकालाई विद्यालय पठाउन थालिएको छ ।

उपमहानगरपालिका–१२ कार्यालयले चिडिमार समुदायका बालबालिकाका लागि शिक्षा विकास कार्यक्रम नै योजनामा पारेको वडा अध्यक्ष सुवेदीले बताए । चिडिमार समुदायमा बच्चा धेरै जन्माउने गरेको पाइन्छ जसका कारण महिलाको स्वास्थ्य अवस्था सधैं कमजोर र दयनीय हुने गरेको छ । अत्यन्त कमजोर घर संरचनामा बसोबास गर्दै आएका यो समुदायका बालबालिका पढ्न चाहन्छन, तर पारिवारिक वातावरण उनीहरूको हितमा नहुने भएकाले उनीहरूको चाहना पूरा हुन सकेको छैन ।