कोभिड–१९ : सहयोगी ‘जयसिंह’


कोभिड–१९ : सहयोगी ‘जयसिंह’

नेपालगन्ज : कोरोना भाइरस संक्रमणको दर बढिरहदाँ विशेषगरि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी जोखिममा रहेकाछन् । मङ्गलबार मात्रै नेपालमा भेटिएका कोरोना संक्रममितमध्ये २ जना पत्रकार, २ जना नर्स र एक जना सशस्त्र प्रहरी छन् ।

कोरोना भाइरस संक्रमणको यो जोखिमका बेला विशेषगरि जनतालाई सुसोचित गराउने सञ्चारकर्मीको स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले जोखिममा परेका पत्रकार र आम नागरिकलाई सहयोग प्रदान गर्दै आएका छन् ।

युनियनका केन्द्रिय सदस्य केसीले देशविदेशका विभिन्न ठाँउमा रहेका आफ्ना शुभचिन्तक, साथीभाईसंगको सहयोगमा बाँकेका पत्रकार तथा नागरिकलाई कोभिड–१९ को समयमा परेको समस्या समाधानका लागि पहल गरेका हुन् ।

यतिबेला देश लकडाउनमा छ । लकडाउन लागेको ५८ औं दिनसम्म पनि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोनामा जोखिम मोलेर रिर्पोटिङमा खटिने पत्रकारका लागि प्रभावकारीरुपमा काम गर्न सकेको छैन ।

यस्तो अवस्थामा युनियनका केन्द्रिय सदस्य केसीले पत्रकारलाई कोरोना संक्रमणको रिर्पोटिङ्गका क्रममा हुने जोखिमबाट बच्न स्यानिटाइजर, माक्स, ग्लोब्स लगायतका औजारका साथै कतिपय पत्रकार र नागरिकलाई खाद्यान्न समेत सहयोग गरिरहेकाछन् ।

केन्द्रिय सदस्य केसीले नेपालगन्जको दशगजा क्षेत्रमा राखिएका २ सय जना नेपालीलाई खाजा नास्ता तथा फलफूल सहयोग गरेका थिए । उनले बाँके प्रशासनले नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई दशगजा नजिक राखिएको क्वारेन्टिनमा रहेका नेपालीलाई ४० हजार बराबर उक्त सहयोग गरेको बताए ।

यस्तै बाँकेको कोहलपुर क्षेत्रका क्रियाशिल दश जना पत्रकारलाई खाद्यान्न सहयोग गरेका थिए । कोहलपुर क्षेत्रमा भाडामा बस्ने दश जना पत्रकारलाई १५ हजार बराबरको खाद्यान्न सहयोग गरेको युनियनका केन्द्रिय सदस्य केसीले सेतोखरीलाई जानकारी दिए ।

उनले आफ्नो सहयोगलाई निरन्तरता दिदैं लगेको बताएका छन् । विशेषगरि पत्रकारलाई सहयोग पु¥याउने उद्देश्यका साथ नेपालगन्जमा रहेका क्रियाशिल २० जना पत्रकारलाई २१ हजार बराबरको खाद्यान्न सहयोग गरेकोे उनी बताँउछन् ।

उनले नेपाल प्रेस युनियन बाँके शाखासंगको सहकार्यमा नेपालगन्जका विभिन्न सञ्चारगृहमा आबद्ध ५० बढी पत्रकारलाई ३० हजार रुपैयाँको मेडिकल माक्स, स्यानिटाइजर र ग्लोब्स सहयोग गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ मा बस्ने १६ जनाको परिवारलाई २० हजार बराबरको खाद्यान्न सहयोग गरेका छन् । लकडाउनका बेला समस्यामा परेकालाई सहयोग गरिरहेका जयसिहंले डुडुवा गाँउपालिकामा रहेको बालसुधार गृहलाई पाँच हजार रुपैयाँको साबुन लगायतको सामाग्री प्रदान गरेको उनी बताँउछन् ।

सहयोगी पत्रकार जयसिंह केसीले पत्रकारलाई सहयोग गर्ने कार्यलाई थप निरन्तरता दिइदै आएका छन् । उनले कोहलपुर नगरपालिका वडा नम्बर ५, १२,१३, १५ र बैजनाथ गाँउपालिका वडा नम्बर २ वडामा १५ हजार रुपैयाँको मेडिकल किट समेत सहयोग गरेको बताए ।

यसबीच उनले कोरोना भाइरस संक्रमण रिर्पोटिङमा खटिने बाँकेका ८ जना पत्रकारलाई प्रति ब्यक्ति पाँच लिटरका दरले पेट्रोल प्रदान गरेकाछन् । आजै बुधबार मात्रै धनगढीबाट कोहलपुर हुदैं काठमाण्डौ फर्किरहको प्राइम टेलिभिजनको टोलीलाई ३० लिटर इन्धन सहयोग गरेको सेतोखरीलाई उनले बताए ।

पत्रकारहरुको सुरक्षाका लागि पत्रकार महासंघले आवश्यक औजारहरु प्रदान गर्दै सचेतना र सहिजकरणमा भूमिका खेल्नुपर्ने हो । उनले भने –‘तर, महासंघ भूमिकाहिन भएपछि आफूले युनियनका केन्द्रिय सदस्यको हैसियतले बाँकेमा सक्रियरुपमा कोभिड–१९ को रिर्पोटिङ्ग गरिरहेका पत्रकारहरुलाई विविध सहयोग गरेको हुँ ।’

कुनैपनि संघसंगठन नहेरी सक्रियरुपमा पत्रकारिता गरिरहेका ब्यक्तिहरुको पहिचानका आधारमा पत्रकारहरुलाई सहयोग गरिरहेको उनी बताँउछन् । आगामी दिनमा पनि कोभिड –१९ को रिपोर्टिङमा बाँकेका सक्रिय पत्रकारलाई कुनैखालको समस्या देखिएमा त्यसको समाधानका लागि आफूले सक्दो सहयोग गर्ने केन्द्रिय सदस्य केसी बताँउछन् ।