नरैनापुर हटस्पट, बाँके उच्च जोखिममा
File Photo
नेपालगन्ज: बाँकेमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा सोमबार ४७ जना नागरिकमा थप संक्रमण पुष्टि भएको छ । यी ४७ जना नरैनापुर क्षेत्रका हुन् ।
नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये १९२ को परीक्षण गर्दा ४६ पुरूष र एक महिलामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा बताउँछन् ।
प्रस्तावित लुम्बिनी प्रदेशको बाँकेमा कोरोना सामुदायिक ट्रान्समिसन देखिएको छ । सोमबारसम्मको रेकर्डअनुसार प्रस्तावित लुम्बिनी प्रदेशमा १५९ जनामा कोरोना संक्रमण भैसकेको छ । जसमा बाँकेको नरैनापुरमा एक जनाको आईतबार मृत्यु भएको छ ।
कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरि परीक्षण भएको थियो ।
एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नरैनापुरलाई ‘हटस्पट’ घोषणा गरिएको नरैनापुर गाउँपालिकाकाका स्वास्थ्य संयोजक मोइन खाँँ बताउँछन् । जम्मा परीक्षण गरिएकामध्ये बाँकी ८१ जनाको स्वाब रिर्पोट आउँन बाँकी रहेको भेरी अस्पताल बताउँछ ।
नरैनापुर क्षेत्रमा बाँके प्रशासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का बताउँछन् ।
नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी संक्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रजिअ खड्काले सेतोखरीलाई बताए ।
यसअघि पनि नरैनापुरका आठ जना कोरोना संक्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको थियो । आईतबार मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टिनमा थिए । उक्त क्वारेन्टिनमा अहिले ३८ जनालाई राखिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बताउँछन् ।
कोभिड १९ गएको वर्ष डिसेम्बरको अन्त्यतिर चीनको वुहान सहरमा पहिलो पटक मानिसमा देखिएको थियो । कोरोना भाइरसले अहिले नेपालमा पनि सन्त्रासको स्थिति उत्पन्न भएको छ । छिमेकी मुलुक भारतमा दैनिक कोरोनाका संक्रमित र मृतकको संख्या बेला नेपाल पनि अछुतो छैन् । युरोप र अमेरिका अहिले यसका कारण आक्रान्त बनिसकेका छन् । नेपालमा अहिले कोरोना संक्रमितको संख्या ३५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटा बताउँछन् ।
डरलाग्दोे कुरा त अब प्रस्तावित लुम्बिनी प्रदेशको बाँकेमा पनि कोरोना सामुदायिक ट्रान्समिसन देखिएको छ । यसको अर्थ हो, बाँकेमा अब कोरोना भाइरस समाजमा फैलिन सक्ने सम्भावना बढ्दो छ । यसअघि नेपालमा विदेशबाट आएका मानिसमा मात्र कोरोना भाइरस संक्रमण देखिएको थियो । तर, स्वास्थ्य मन्त्रालयका अनुसारका अनुसार अब समाजमै जो सुकैमा पनि कोरोना संक्रमण हुन सक्ने देखिएको छ ।
बाँकेको नेपालगन्जमा बैशाख १९ गते एक मुश्लिम समुदायका एक व्यक्तिमा पहिलो संक्रमण देखिएको थियो । त्यसपछि नेपालगन्ज उपमहानगरपालिका र स्वास्थ्यको सक्रियतामा उपमहानगरको वडा नम्बर ८ मा गरिएको आमनागरिकको स्वास्थ्य परीक्षणका क्रममा २५ जनामा संक्रमण देखिएको थियो । त्यसपछि क्रमिक रूपमा बढ्दै गएको कोरोना संक्रतिको संख्या सोमबारसम्म ८१ पुगेको छ ।
कोरोना भाइरस जब सामुदायिक ट्रान्समिसनमा देखिन थालेको छ । तब धेरै मानिसमा यो एकै पटक विस्तारित भएको देख्न सकिने डाक्टर देवकोटा बताउँछन् ।
उनकाअनुसार यसरी समुदायमा एक जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अरू धेरैको परीक्षण पनि पोजेटिभ आउन थालेको छ । तर, बाँकेमा अहिले पनि कोरोना संक्रमणको यथेष्ट चेकजाँच हुन नसकेको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द बताउँछन् ।
उनकाअनुसार यो समयमा बाँकेमा अझ बढी डरको माहोल बढेको छ । उनले भने ‘यो स्वभाविक पनि हो, जहाँ सयौं मानिसहरु भारतका विभिन्न ठाउँबाट आएका छन् । उनीहरू स्वास्थ्य परिक्षण हुन सकेको छैन् ।’
बाँकेको नरैनापुरस्थित वडा नम्बर पाँचको दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन माविमा सारिएको छ । दीपेन्द्र माविमा रहेका २५ वर्षीय युवकको मृत्यु भएपछि त्यहाँ रहेका अरुलाई अन्यत्र सारिएको हो । दीपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसान माविको छेउमा टेन्ट टाँगेर राखिएको छ ।
स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरमा भित्रिनेको संख्या बढिरहेको छ । पालिकाले क्वारेन्टिन पनि थपेको छ । अहिले त्यहाँ १३ वटा क्वारेन्टाइन रहेका छन् । क्वारेन्टिनमा ७ सय ७९ जना बसिरहेका छन् ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले एक हजार एक सय ६४ पुरूष र ६१ जना महिला गरी एक हजार दुई सय २५ जना क्वारेन्टिनमा बसेको बताए ।
खुला सीमाको फाइदा उठाउँदै भारतबाट लुकिछपी दैनिक रुपमा आउनेहरुको संख्या उल्लेख्य रहेकाले पनि जोखिम अझ बढेको देखिएको छ ।
परीक्षणको दायरा बढाउने हो र अहिले क्वारेन्टिनमा रहेका सबैको परीक्षण रिपोर्ट आइपुग्दासम्म कोरोना संक्रमितको संख्या अझै भयावह हुने त होइन भन्ने त्रास उत्तिकै रहेको छ ।