नेपालगन्ज: नेपाल–भारत सीमानाका जमुनाहमा आएका नेपालीलाई तयारी खानाको व्यवस्था गरिएकोछ । नेपालगन्जको जमुनाहा नाकामा भारतबाट घर फर्किएका नेपालीका लागि भन्दै तयारी खानेकुराको व्यवस्था गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार नेपाल–भारता जनमुनाह नाकाबाट दिनहुँ साढे दुई हजार बढी नेपालीहरु भित्रिरहेका छन् । नाकाबाट भित्रिने सबै नेपालीका लागि तयारी खाना, पानी, मास्क, साबुन दिएर पठाउन शुरु गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा भारतका विभिन्न स्थानबाट घर फर्किएका नेपालीलाई तयारी खाना अन्र्तगत दुई वटा बिस्कुट, एउटा स्याउ, दुई सय ग्राम नमकिन तथा एउटा मिठाई सहितको तयारी खानेकुरा तथा प्रतिब्यक्ति एक बोत्तल पानी, मास्क, साबुन र गाडीमै पानीको जार राखेर पठाउने गरिएकोछ ।
प्रदेश सांसद कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ, सुरक्षा निकायका प्रमुखहरु तयारी खाना वितरणको पहिलो दिन आज नाकामा पुगेका थिए ।
बाँकेमै आज मात्रै ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । जसमध्ये नेपालगन्ज वडा नम्बर १२ र १५ का दुई जना र जानकी गाउँपालिकाका ४० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।