मालपोतको सर्भिस सेन्टरमै लेनदेन


मालपोतको सर्भिस सेन्टरमै लेनदेन

नेपालगन्ज : मालपोत कार्यालयमा अनलाइन मार्फत सेवाग्राहीलाई सेवा प्रवाह गर्न थालिएसँगै कर्मचारीको घुस लिने प्रकृतिमा पनि परिवर्तन आएको खुलेको छ । बढी आर्थिक लेनदेन हुने अड्डाका रूपमा रहेको मालपोतमा अनलाईन सेवा शुरू भएपछि कर्मचारीहरूले घुस खाने नयाँ उपाए खोजेको खुल्न आएको हो ।

मालपोत कार्यालयमा अनलाईन सेवा अन्तगर्त खोलिएका सर्भिस सेन्टरमा जानाजान ढिलासुस्ती गरेर सेवाग्राहीसँग घुस लिने काम भईरहेको थाहा भएको सेवाग्राही बताउँछन् । कार्यालय समयमा ढिलासुस्ती गरेर विहान र साँझको समयमा सेवाग्राहीको काम गरिदिने भन्दै सर्भिस सेन्टरका कर्मचारीहरुले प्रति जग्गा कारोबार दुई हजार रुपैयाँसम्म लिने गरेको एक सेवाग्राही नाम नछाप्ने शर्तमा बताए ।

बाँके जिल्ला मालपोत कार्यालयमा सर्भिस सेन्टर छ । जहाँ जग्गा किनबेचको सम्पूर्ण इन्ट्री कम्प्यूटरमा हुने गरेको छ । बढी आर्थिक चलखेल हुने जिल्लाका रूपमा रहेको बाँकेका कर्मचारीले यस्तो जुक्ति लगाउँदै आएको स्रोतले बताएको छ । अनलाईन सेवा सुरु भएपछि भईरहेको ढिलाईलाई कर्मचारीहरुले कमाउने माध्यम बनाएका छन् । सर्भिस सेन्टरका कर्मचारीहरुले एक दिनमा काम नभएका सेवाग्राहीलाई अब एक हप्ता पर्खनुपर्ने भन्दै लेखनदासमार्फत घुस दिन बाध्य पार्ने गरेको सेवाग्राही बताउँछन् ।

कम्प्यूटरमा ईन्ट्री गर्न नसकिएका सेवाग्राहीलाई छिटो काम गराईदिने नाममा रकम असुलेर कार्यालय समयभन्दा अगाडी र पछाडी समेत काम गरिदिएको सेवाग्राहीको गुनासो छ । उक्त सर्भिस सेन्टरमा दैनिक कम्तिमा एक सय ५० देखि तीनसयसम्म रेकर्ड ईन्ट्री हुने गरेको मालपोत कार्यालयका प्रमुख प्रेम दौत्याल बताउँछन् । उनले भने ‘मालपोत कार्यालयमा दिनहुँ करिब तीन सय जति जग्गाको कारोबार हुने गरेका छन ।’
२०७४ साउन महिनादेखि बाँके जिल्लाभरमा लागू गरिएको उक्त सेन्टरमा कर्मचारीले यसरी सेवाग्राहीबाट रकम नलिएको र अघिल्लो दिनको बाँकी काम भोलीपल्ट विहान आठ बजेतिरर आएर गर्ने गरेको उनी बताउँछन् ।

उनकाअनुसार कार्यालय विहान १० देखि साँझ पाँच बजेसम्म मात्र खुल्छ । त्यो भन्दा अघि वा पछि हुने काम सोवग्राहीको नभई कार्यालयकै आन्तरिक काम मात्र हुने गरेको छ ।’ सर्भिस सेन्टरमै कर्मचारीले सेवाग्राहीबाट घुस लिन्छ भन्ने पछिल्लो आरोप गलत भएको मालपोत अधिकृत दौत्यालले जिकिर गरेका छन् । उनले यस्तो आरोप अनावश्यक भएको भन्दै कहिले काँही कर्मचारीले विहान आठ बजे आन्तरिक कामका लागि कार्यालय खोलेपनि साँझ पाँच बजेपछि कुनैपनि काम नभएको बताए ।