नेपालगन्ज : नेपाली सेनाले भारतबाट आउने यात्रुको सहजताका लागि नेपालगन्जको जमुनाह नाकामा ‘होल्डिङ सेन्टर’ स्थापना गरेको छ । सेनाले जिल्ला प्रशासन कार्यालय, भन्सार तथा यातायात कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र विभिन्न संघ–संस्थासँगको समन्वयमा भन्सार कार्यालयको पार्किंङ स्थलमा ‘होल्डिङ सेन्टर’ को स्थापना गरेको हो ।
‘होल्डिङ सेन्टर’ स्थापना भएपछि भारतबाट आएका यात्रुको व्यवस्थापन राम्रो हुन थालेको छ । जसले गर्दा विभिन्न जिल्लाबाट यात्रु लिन आएका सवारी साधनलाइ पनि यात्रु लैजान सहज भएको चालकको भनाइ छ । भारतबाट यात्रु लिन आएका स्थानीय सवारी चालक कमल खत्रीले भने, ‘सीमावर्ती बजार रुपैडिहामा जाँदा भारतीय प्रहरीले हेपाहा व्यवहार गर्ने र नेपाली सवारी धेरै हुँदा केही समस्या देखिने गरेको छ ।’ नेपालमा जसरी क्वारेन्टाइन्को व्यवस्थापन भएको यो राम्रो भएको खत्रीको भनाइ छ ।
भारतका विभिन्न ठाउँबाट आएका यात्रुका लागि ‘होल्डिङ सेन्टर’ मा प्याकिंग खानाको समेत व्यवस्था गरिएको छ । ‘होल्डिङ सेन्टर’ मा भारतबाट आउने यात्रु र सवारी साधनलाई राखेर विवरण लिने गरिन्छ ।
भारतबाट आएका नेपालीलाई सवारी पास दिई सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने व्यवस्था पनि मिलाइने भएको छ । जसको समग्र अगुवाई नेपाली सेनाले गरेको छ । सेनाले भारतबाट आएका यात्रुलाई सहजताका साथ सम्बन्धित जिल्लाबाट आएका सवारीमा तत्काल पठाउने काम गर्दै आएको नेपाली सेनाका सह सेनानी चेतन पौडेलले बताए । लकडाउन खुकुलो भएसँगै भारतमा दैनिक सयौंको संख्यामा नेपालीहरु स्वदेश भित्रिने गरेका छन ।