६ महिनामा ४४ करोड खर्च


६ महिनामा ४४ करोड खर्च

नेपालगन्ज : उच्च प्राथमिकतामा रहेको सिक्टा सिचाई आयोजना आर्थिक बर्षको पहिलो ६ महिनामा औषतभन्दा पनि कम खर्च गरेको छ ।
राष्ट्रिय गौरवको उक्त आयोजनाले पुस मसान्तसम्ममा विनियोजित बजेटको २९ दशमलव ३५ प्रतिशत अर्थात ४३ करोड ७४ लाख रूपैयाँ खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि एक अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका अनुसार वित्तीय प्रगति लक्ष्य अनुसार हुन सकेको छैन् । ०६३ सालबाट निर्माण शुरूमा आयोजनाको बाँध र मूल नहरको ३५ किलोमिटर खण्डको काम सम्पन्न हुँदासम्म साढे १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मूल नहरमा प्रतिसेकेन्ड ५० क्युमेक्स पानी बग्न सक्ने क्षमता छ । आर्थिक वर्ष २०७३/ ७४ का लागि आयोजनालाई सरकारले थप एक अर्ब २६ करोड रुपियाँ विनियोजन गरेको थियो ।

अहिलेसम्म ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण काम आगामी आव २०७६ र ७७ सम्म सम्पन्न हुने र लागत खर्च झन्डै २५ अर्ब पुग्ने अनुमान छ । कुल ४५ किमी मूल नहरमध्ये ३५ किमी खण्ड गत वर्ष सम्पन्न भएको थियो । चालू वर्ष बाँकी १० किमि निर्माणकार्य भइरहेको छ । सरकारले विशेष प्राथमिकतामा राखेको आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा राखिएको छ । तर, परीक्षणकै क्रममा पटक–पटक आयोजनाको मुल नहर भत्किन थालेपछि कामको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको छ।