सुरक्षाको विकल्प नै ‘लकडाउन’


सुरक्षाको विकल्प नै ‘लकडाउन’

नेपालगन्ज: बाँके मात्रै होइन सिंगो मुलुक लकडाउनमा छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको साढे दुई महिना पुगेको छ । उक्त अवधिमा मुलुक पूर्ण रूपमा ठप्प छ । व्यापार–व्यवसाय बन्द छ । पठन–पाठन स्थगित गरिएको छ । जनजीवन प्रभावित छ । अर्थतन्त्र प्रभावित बनेको छ । यसको क्षति तत्कालीन मात्र नभएर दीर्घकालीन हुन्छ । जसको पूर्ती गर्न सजिलो छैन । निक्कै समय लाग्ने देखिएको छ ।

गत चैत ११ गतेदेखि लकडाउन गरिए पनि नेपालमा कोरोना संक्रमितको संख्या भने पछिल्लो समयमा तीव्र भइरहेको छ । १४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या ३ हजार २ सय नाघिसकेको छ । एकातर्फ संक्रमणले निम्त्याउने क्षति त छँदैछ अर्कोतर्फ अर्थतन्त्रलगायत विकास–निर्माणमा पारेको क्षति पनि उत्तिकै ठूलो छ । जसले गर्दा पछिल्ला दिनहरूमा लकडाउनको विकल्प खोज्नुपर्ने कुरा चर्को रूपमा उठिरहेको छ ।

लकडाउन विशेषतः महामारीसँग जुध्नका लागि आवश्यक पूर्वतयारी हो । तर, यही नै अन्तिम उपाय भने होइन । त्यसैले यसलाई सहज बनाउँदै थप सतर्कता अपाउन नसकिने पनि होइन । तर, लकडाउन खुकुलो बनाउँदा यतिबेला कोरोना संक्रमितको संख्या अझै बढ्ने निश्चित छ । यसैले यस बिषयमा गम्भीर हुन जरूरी देखिन्छ ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई कायमै राखेको छ । त्यसपछि के गर्ने ? भन्ने यकिन भनेको छैन । यद्यपि लकडाउनलाई खुकुलो बनाउनुपर्ने मत र दबाव भने बढ्दै गएको छ । विशेष गरेर व्यवसायीहरू लकडाउन खुकुलो बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

लामो समयदेखि उद्योगधन्दा बन्द हुँदा ठूलो क्षति भएको र त्यसलाई सम्बोधन गर्नेगरी सरकारले पनि कुनै कदम नचालेको भन्दै निजी क्षेत्र आक्रोशित बनेको छ । कतिसम्म भने कतिपय स्थानहरूमा व्यापारीहरूले स्वतस्फूर्त लकडाउन अवज्ञा गरेर पसल खोल्न समेत थालेको छन् । यसले सरकारलाई थप दबाव परेको छ ।

आम नागरिकको दबाब अनुसारब बाँके प्रशासनले एक दिन लकडाउन खुकुलो बनाएर बारअनुसार बजार खोल्दा यहाँ नागरिकको चाप थेगिनसक्नु भएको हामीले देखेका छौं । यसैले पनि नागरिक व्यवस्थापनको पूर्ण योजना बनेसम्म लकडाउन खुकुलो बनाउनु र बजार खोल्नुमा कुनै अर्थ देखिदैन् ।

दबाव बढेपछि सरकार पनि लकडाउन खुकुलो बनाउनेतर्फ लचक भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय विपद् व्यवस्थापन केन्द्रले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत स्वरूप तयार पारेको छ ।

विस्तृत कार्ययोजनामा संक्रमणको अहिलेको अवस्था हेर्दा ७० दिनपछाडि मात्रै जनजीवन सहज बनाउन सकिने प्रक्षेपण गरिएको छ । दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन विस्तृत खाका तयार पारिएको छ ।

लकडाउनले मात्रै कोरोना नियन्त्रण गर्न सकिदैन भन्ने पुष्टि भइसकेको छ । बरु लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै अघि बढ्न सकिन्छ । सुरक्षात्मक उपायहरू अपनाएर सामाजिक दूरी कायम गर्दै विशेष गरेर कृषि क्षेत्रलाई सहज बनाउनेतर्फ सोच्न जरुरी भइसकेको छ ।

त्यस्तै दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउन सकिन्छ । तर, यस्ता क्षेत्रहरू खुल्ने समय तालिका बनाउनुपर्छ ।

बाँके प्रशासनले गरेको बारअनुसार पसल खोल्ने निर्णय गलत थियो । तर, अहिले उसले उक्त निर्णयमा सुधार याएको छ । यद्दपी ११ देखि ३ बजेसम्मको खुल्ला समयमा पनि सामाजिक दुरी कायम गर्नुका साथै भीडभाड र अनियन्त्रीत हिडडुललाई रोक्न आबश्यक देखिन्छ ।

बाँके लगायतका जिल्लामा अहिले दैनिक कोरोना संक्रमित बढ्दै गएका छन् । घर, बस्ती टोल मात्रै होइन समाज र सिगो गाउँ नै कोरोनामय बनेको छ । यसैले विगतको तुलनामा अहिले यसबाट बच्नुपर्ने देखिएको छ । यसका लागि आफनो सुरक्षा आफैले गर्नुपर्ने देखिन्छ ।

सुरक्षित बन्न र सुरक्षा कायम गर्ने पहिलो र प्रभावकारी उपाय नै लकडाउन हो । यसैले यसको पालना गरौं । घर भित्रै बसौ आफू बचौ र अरूलाई बचाऔं । स्वास्थ्य सुरक्षामा सतर्कता अपनाऔं । लकडाउनलाई प्रभावकारी बनाऔं ।