बाँकेको लकडाउन: थपिदै संक्रमित, सडकभरी मानिस र सवारी साधन


बाँकेको लकडाउन: थपिदै संक्रमित, सडकभरी मानिस र सवारी साधन

कोहलपुर: लकडाउनको ७६ औं दिन । बाँकेको नेपालगन्ज र कोहलपुर शहरमा आईतबार फरक दृष्य देखियो । बाँके प्रशासनको उदासिनताका कारण यहाँका यी दुई शहरमा आईतबार लगभग जसो बजार खुल्ला थिए ।

यसअघि सधै सुनसान हुने महेन्द्र र रत्नराजमार्ग तथा कोहलपुर नेपालगन्ज सडकखण्ड र भित्रि सडकहरू सवारी साधनले भरिभराउ देखिएका थिए । सवारी साधन मनोमानी गुडिरहेका थिए । आमनागरिकको पसलमा भीड नै थियो । प्राय पसल र सडकपेटीमा सामाजिक दूरी देखिएको थिएन् । कोरोना सक्रमणको कसैमा खासै प्रवाह देखिएको थिएन् । कतैकतै सडकमा प्रहरीको उपस्थिति देखिएको थियो । तर, व्यवस्थापन निकै खुकुलो थियो ।

सरकारले लकडाउन खुकुलो बनाउँने भनेसँगै यसको असर बाँकेमा परेको छ । तर, बाँके कोरोना संक्रमणका हिसाबले निकै जोखिम भएको जिल्ला हो । यहाँ रामबहादुर कुरूङवा सिडिओ भएर आएपछि लकडाउन कडा र प्रभावकारी हुने विश्वास गरिएको थियो । यद्यपी त्यसो हुन नसक्दा अहिले बाँके प्रशासन लकडाउन व्यवस्थापनमा चुकेको भान भैरहेको जानकारहरू बताउँछन् ।

बाँकेको भेरी अस्पतालमा परीक्षण गरिएका स्वाब मध्ये आईतबार दिउँसोसम्म बाँकेका ३ सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँके खजुरा ४ का ३८ वर्षीय पुरुष, खजुरा ७ का ३० र १५ वर्षका पुरुष गरि ३ जना र रोल्पा सुनिलस्मृती ५ का २७ र २० वर्षीय दुई पुरुष र बर्दिया गुलरिया ३ का १९ वर्षीय पुरुष गरि कुल ६ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । आईतबार थपिएका ३ सङ्गै बाँकेमा कोरोना संक्रमितको संख्या २७० पुगेको छ ।

कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ । सर्वसाधारण स्वतः स्फुर्त रुपमा घारबाहिर काममा निस्कन थालेका छन् । सडकमा सवारी साधनको बाक्लो चाप थियो । सार्वजनिक सवारी साधन धेरै नचले पनि निजी गाडीहरु प्रशस्त चलेका छन् ।

अघिल्ला दिनहरुको तुलनामा धेरै मानिस घरबाहिर निस्केका छन् । धेरै कार्यालय तथा व्यवसाय सञ्चालनमा आउन थालेका छन् । दुई महिना भन्दा बढी समय लकडाउन गर्दासमेत सरकारले जनजीवन सामान्य बनाउने मोडालिटी नल्याउँदा समस्यामा परेको भन्दै निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने बताउँदै आएको छ । तर, अहिलेसम्म सरकारले लकडाउन खुकुलो पार्ने निर्णय भने गरेको छैन ।

नेपालमा आईतबार २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

तीमध्ये १३ जनाले ज्यान गुमाएका छन् भने ४ सय ६७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् । आईतबारसम्म ९६ हजार २ सय ५ जनाको पीसिआर बिधिबाट कोरोना परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।