प्रदेश पाँचमा स्वास्थ्यका १७३ भवन निर्माण गरिदैं


प्रदेश पाँचमा स्वास्थ्यका १७३ भवन निर्माण गरिदैं

नेपालगन्ज : सरकारले स्वास्थ्य संस्था नै नभएका प्रदेश पाँचका प्रदेश ५ मा १ सय ७३ ठाउँमा संस्थाको भवन निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि सम्बन्धित प्रदेश सरकारमार्फत बजेट पठाइने तयारी भईरहेको छ । टाइप १ भवन ७ र टाइप २ भवन १ सय ६८ गरी जम्मा यतिको भवन निर्माण गर्ने भएको हो ।

पहिलो चरणमा स्थानीय तहको माग, जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा भवन निर्माणका लागि स्थान छनोट गरिएको छ । मन्त्रालयले जनसंख्याका आधारमा टाइप १ र टाइप २ गरी दुई थरीका भवन निर्माण गर्ने कार्ययोजना बनाएको छ ।

छनोट भएका सम्बन्धित वडाको जनसंख्या ७ हजार वा सोभन्दा बढी र न्यूनतम १६ आना जग्गा उपलब्ध भएमा ६३ लाख ४६ हजार ३ सय ६० रुपैयाँसम्मको प्रसूति सेवासहितको एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ । जसलाई मन्त्रालयले टाइप १ अन्र्तगत राखेको छ ।
त्यसैगरी, ७ हजारभन्दा कम जनसंख्या भएको र न्यूनतम ९ आना जग्गा उपलब्ध हुने वडा वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ ।

जसलाई टाइप २ मा राखिएको छ । टाइप १ मा प्रसूति सेवा पनि हुनेछ भने टाइप २ भवनमा प्रसूति सेवा समावेश गरिएको छैन । देशभरका २ हजार ४ सय ७३ वटा वडामा नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ । यी वडामा दुई चरणमा संस्था निर्माण हुने छन् ।
पहिलो चरणमा यो वर्ष १२ सय वडामा र दोस्रो चरणअन्तर्गत आगामी आर्थिक वर्षमा १३ सय १० वटा संस्था निर्माण हुने भएको हो । आगामी आर्थिक वर्षमा निर्माण हुने १३ सय १० संस्थामध्ये १ हजार २ सय ७३ वटा स्वास्थ्य संस्था नै नभएको वडामा र ३७ वटा संस्था भने आवश्यकता अनुसार थप निर्माण हुने छ । यस आधारमा हेर्दा अबको दुई वर्षमा २५ सय १० स्वास्थ्य संस्था निर्माणको काम अगाडि बढ्ने देखिन्छ ।

संस्था निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडाहरुको पहिचान गरिसकेको छ । नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर विकास देवकोटाले पहिलो वर्षका लागि चार अर्ब बजेट विनियोजन गरेको बताए ।