भन्सारको करोड खर्चेको मेशिन अझैं अलपत्र


भन्सारको करोड खर्चेको मेशिन अझैं अलपत्र

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने करोड बढि मुल्य पर्ने एक्सरे मेशिन एक वर्षदेखि गोदामै थन्किएको छ । नेपाल प्रवेश गर्ने बिन्दुमा आवातआजावत गर्ने सर्बसाधारणले ल्याउने हरेक सामानको जाँच गर्ने दुईवटा मेशिन प्रयोग बिहिन भएको छ ।

एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेशिन छ । दुबै मेशिन करोड बढि मुल्यको रहेको भन्सार अधिकारीहरु बताउँछन् । ती मेशिनहरु एक वर्ष अघि नेपालगन्ज ल्याईएका थिए । यस्तै प्रकारको मेशिन बिराटनगर पनि पठाईएको र त्यहाँ पनि प्रयोग नभएको पाईएको छ । नेपालगन्ज नाका हुँदै अहिले जोकोहीले चाहेमा जस्तोसुकै सामान लयाउन सक्छन् । त्यसलाई रोक्न प्रहरी, प्रशासन र स्वयं भन्सारका लागि उपयोगी हुने मेशिन भने त्यस्तै थन्किएको छ ।

भन्सारले मेशिन राख्ने उपयुक्त ठाउँ खोज्द खोज्दै एक वर्ष बितेको दाबी गरेको छ । नेपाल प्रवेश गर्ने गेट नजिक सबैभन्दा उपयुक्त हुने भएपनि त्यहाँ मन्दिरको सटरहरु छन् । उक्त सटरमा मेशिन राख्न उपयुक्त हुने भएपनि मन्दिर सन्चालक गुठीले भन्सारलाई सटर दिन आनाकानी गरेको छ ।  त्यस्तै भन्सारकै तल्लो क्षेत्रको बिन्दुमा अब मेशिन राख्ने तयारी भइरहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । उनले आफु आउनु भन्दा पहिल्यै उक्त मेशिन आएको र अब जतिसक्यो छिटो मेशिन जडान गर्ने जानकारी दिए ।