नेपालगन्ज स्थित प्रशिद्ध बागेश्वरी मन्दिर ।
नेपालगन्ज: सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण नेपालगन्जको बागेश्वरी मन्दिरले १० लाख आम्दानी गुमाएको छ । बागेश्वरी मन्दिरमा दैनिक जसो हुने पूजापाठ, भेटी, चन्दाका साथै मन्दिर आसपासको घर भाडाबाट आउने रकम नआउँदा ८२ दिनको लकडाउनमा करिब १० लाख आम्दानी गुमेको मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी बताउँछन् ।
सचिव अधिकारीकाअनुसार लकडाउन अघि मन्दिरमा मासिक तीनदेखि साढे तीन लाखसम्ममा आम्दानी भैरहेको थियो । लकडाउनपछि मन्दिरका सबै कामकाज पूर्ण बन्द भएकाछन् उनले भने ‘अहिले त मन्दिरै खुल्ला नहुँदा कसरी आम्दानी होस् ।’ मन्दिरमा पुजापाठ, चन्दा, भेटी, पार्किङ, घरभाडा, सटर, पर्यटक प्रवेश, मालपोत, गुठीलगायतका शीर्षकमा आम्दानी हुँदै आएको थियो । चैत ११ गतेदेखि जारी लकडउानका क्रममा मूल मन्दिरलगायत यहाँ भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ ।
बाँकेमा कोरोनाको अवस्था भयावह भएपछि अहिले घर भाडा माग्ने कुरा पनि भएन । मन्दिरमा भएको आम्दानीको २५ प्रतिशत पुजारी र ७० प्रतिशत व्यवस्थापन समितिको कोषमा रहने प्रावधान भएपनि अहिले तीन महिनादेखि कसैले उक्त आम्दानी देख्न पाएका छैनन् । कोभिड १९ को महामारीले मुलुक लकडाउनमा परेपछि बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प भएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका समितिका अध्यक्ष डाक्टर धवलशम्शेर राणा बताउँछन् ।
श्रद्धालु भक्तजनको घुइँचो लाग्ने प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर करिब तीन महिनायता सुनसान छ । मन्दिरमा विशेषतः बाँके लगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन मन्दिरमा पूजापाठ गर्न आउने गरेका थिए । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने जनविश्वास रहेको मेयर डाक्टर राणा बताउँछन् ।
मन्दिर परिसरमा सम्भवतः विश्वकै एक मात्र जुँगे महादेवको पूर्णकदको मूर्ती आकर्षणका रूपमा लिएको छ । बागेश्वरी मन्दिरसंँगै नेपालगन्जका मस्जिद, चर्च, गुम्बा र गुरुनानक मन्दिर पनि लकडाउनका कारण बन्द गरिएकाछन् । धार्मिक सद्भाव मञ्चको निर्णयानुसार धार्मिक आस्थाका सबैखाले स्थान बन्द गरिएको संस्थाका सचिव मौलाना जब्बार मञ्जरीले बताउँछन् ।
संघीय सरकारको निर्णय र आदेशपछि मात्रै मन्दिर खुल्ला हुने र नियमित मन्दिरको काम अघि बढाईने समितिका सचिव अधिकारीले बताए । सरकारको निर्णय र आदेश नआउँदासम्म अहिले नै मन्दिर खुल्ला गर्ने अवस्था देखिदैन् ।