दाङः माया प्रेमको न जात हुन्छ, न धर्म, न सीमा, न उमेर न त कुनै विशेष अवस्था । जब कोही कसैंसग प्रेममा पर्छ उसका लागि उसले औधी माया गर्ने प्रेमीप्रमिका नै विशेष हुन्छन् ।
अझ माया बस्नलाई कुनै औपचारिकताको आवश्यकता पर्दैन । हार्दिकतासगैं भएको अप्रत्यासी भेट वा आर्कषणले दुई ब्यक्तिबीचको सबै बाधा र दूरीलाई तोडिदिन्छ ।
अहिले विश्व कोरोना भाइरससंग लडिरहेकोछ । विशेषज्ञहरु यसको निदानका लागि सम्पूर्ण खोज र प्रयासलाई निरन्तरता दिइरहेकाछन् । कोरोनाका कारण विश्वभर मानिसको दिनानुदिन मृत्यु भइरहेको छ । यस्तै नेपालको पनि अवस्था दयनिय बन्दै गएकोछ ।
यकातिर क्वारेन्टिनमा रहेकालाई आवश्यक गुणस्तरीय बास र गासको व्यवस्थापन हुनसकिरहेकोछैन । अझ क्वारेन्टिनमै रहेकी महिला क्वारेन्टिन ब्यवस्थापनमा खटिएका ब्यक्तिहरुबाटै सामुहिक बलात्कारको सिकार बन्छिन् । यस्तै यस्तै घटनाकाबीच एउटा रोचक घटना बाहिरीएकोछ ।
भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुले क्वारेन्टिनबाटै विवाह गरेकाछन् । यो घटना बाँकेको छिमेकी जिल्ला दाङको घोराही उपमहानगरपालिका–१८ स्थित क्वारेन्टिनमा बसेका एक जोडिको हो ।
भारतबाट नेपाल आएर क्वारेन्टिनमा बसेका एक प्रेमजोडिले अन्ततः विवाह गरे त्यो पनि क्वारेन्टिनमै । सुन्दा आश्चर्य लाग्दो हो तर यो घटना बास्तविक हो ।
दाङको घोराही उपमहानगरपालिकामा रहेको क्वारेन्टिनमा बसेका ती जोडीको परिवारको सहमति भएपछि क्वारेन्टिनमै विवाह गरिएको वडाध्यक्ष भरत अर्याल बताउँछन् ।
‘भारतबाट आएर क्वारेन्टिनमा बस्नुभएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ,’ वडा अध्यक्ष अर्यालले भने, ‘क्वारेन्टिनमा बसेको बेलामा घर परिवारको सल्लाहमा जोडीको विवाह भयो ।’
क्वारेन्टिन नजिक वर, पिपलको रुखमुनि हिन्दु धार्मिक परम्परा अनुसार वैवाहिक कार्यक्रम गरिएको र नव जोडी अहिले घरमा बसेको वडा अध्यक्ष अर्यालले बताए ।
यतिखेर कोरोना भाइरसको महामारिकाबीच भएका थुप्रै घटनाहरुमा यो घटना नेपालका लागि नयाँ र नौलो बनेकोछ । क्वोन्टिनमा रहेका ती जोडीको विवाह त सफल भयो तर, अर्को रोचक पाटो भने नवविवाहित दम्पती एक हप्ता अलग्गै बस्नुपर्ने बाध्यता छ । यो उनीहरुको धार्मिक तथा परिवारको कुनै परम्परा वा चलन भने होइन ।
क्वारेन्टिनमा बसेका उनीहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मीले सुझाएको सुझाव हो जो उनीहरुले मान्नैपर्छ । वडा अध्यक्षले भने– विवाह गरेर घर गएका ती नवदम्पतीलाई एक हप्तासम्म अलग–अलग बस्न भनिएको छ,’ उनले भने, ‘क्वारेन्टिनमा बसेकामध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरुलाई एम्बुलेन्समार्फत आइसोलेशनमा लगियो रिपोर्ट नेगेटिभ आएको जोडी विवाह गरेर घर जानुभयो ।’ विवाह बन्धमा बाँधिएका पुरुष २३ वर्षका र महिला २१ वर्षका हुन् ।
नेपालमा कोरोना भाइरस संक्रमण देखिएसगैं उत्पन्न असहज परिस्थितका कारण थुप्रै अप्रिय घटनाहरु भएकाछन् । हालसम्म नेपालमा १९ जनाको मृत्यु भइसकेकोछ । भने हजारौं ब्यक्ति संक्रमित भएकाछन् । नाबालक शीशुदेखि बृद्धसम्मकाले कोरोनालाई जितिरहेकाछन् । कहिँ क्वारेन्टिनमै रहेका महिलालाई बलात्कार गरिन्छ । कतै छुवाछुतका कारण कुटपिट त कतै क्वारेन्टिनको उचित व्यवस्थापन नहुदाँ क्वारेन्टिनमा बस्नेले सास्ती भोग्नु परेकोछ ।
दाङको यो प्रेमजोडिको विवाहले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेकोछ । कतिपयले किन हतार गरेको, स्वास्थ्यलाई ख्याल नदिएको भन्दै आलोचनात्मक टिप्पणी गरेकाछन् भने कतिपयले माया त माया नै हो भन्दै सफल दाम्पत्य जिवनको शुभकामना समेत दिइरहेकाछन् ।