विरालोको ‘घाँटीमा घण्ट’ झै कम्प्युटर शिक्षा


विरालोको ‘घाँटीमा घण्ट’ झै कम्प्युटर शिक्षा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरभित्रै १३ वटा विद्यालय अझै कम्प्युटरविहीन छन् । कम्प्युटर भएका विद्यालयमामा पनि एक मात्र कम्प्युटर शिक्षक, विषय शिक्षक र कम्प्युटरको अभावमा प्रयोगात्मक कक्षा हुँदैन् ।

उपमहानगर क्षेत्रमा रहेका ४३ वटा आधारभूत सामुदायिक विद्यालयमध्ये १३ वटा विद्यालय अझै कम्प्युटर शिक्षाबाट बञ्चित छन् । उपमहानगरमा आधारभूत सहित एक सय ३० वटा सामुदायिक विद्यालय रहेको नगर शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी बताउँछन् । उनकाअनुसार यहाँ अहिलेसम्म २५ प्रतिशत विद्यालयमा मात्रै कम्प्युटर छन् । तर, ती पनि प्रयोगमा छैनन् । उपमहानगरकै सुविधा सम्पन्न भनिएका कतिपय सामुदायिक विद्यालयमा इन्टरनेट छैन् ।

रेग्मीले भने ‘केही हाईस्कुलले इन्टरनेट जोडेका छन् । नगरभित्रै होईन, बाँकेका अधिकाशं विद्यालयको यही अवस्था छ। सत्प्रतिशत विद्यालयसँग कम्प्युटर शिक्षकको दरबन्दी छैन ।’ विद्यार्थीलाई प्राविधिक ज्ञान दिन सरकारले दशबर्षअघि सामुदायिक विद्यालय तहमा कक्षा ६ देखि १० सम्म कम्प्युटर विषय लागू गरेको थियो । ऐच्छिक संस्कृत र कम्प्युटरमध्ये एक विषय रोज्नुपर्ने भएपछि बाँकेका अधिकाशं सामुदायिक विद्यालयले कम्प्युटर विषयको पढाइ रोजेका थिए । तर, यो शिक्षा व्यवहारमा लागू हुन सकेको छैन ।

कुनै विद्यालयमा कम्प्युटर छैन । कतिपयमा विद्यार्थीले कम्प्युटर कस्तो हुन्छ देख्न पाएका छैनन् । नगरकै विद्यालय कम्प्युटरविहीन छन् । विद्यार्थीसँग कम्प्युटर शिक्षा लिएको सर्टिफिकेट छ । तर, उनीहरू कम्प्युटर चलाउन सक्दैनन्रु। नगरका ३० विद्यालयमा कम्प्युटर शिक्षा पढाइ भएको रेग्मी बताउँछन् । दरबन्दीमा कम्प्युटर शिक्षक छैनन् । विद्यार्थीहरूले कम्प्युटर छुन र चलाउँन त परै जाअ‍ोस् हेर्न पनि पाएका छैनन् । जनशक्ति अभाव र कम्प्युटर सम्बन्धी पूर्ण ज्ञान नहुँदा विषयगत कक्षा लिएपनि सत्प्रतिशत विद्यालयमा प्रयोगात्मक कक्षा हुन नसकेको शिक्षकहरू बताउँछन् । विद्यालयहरूका अनुसार ५० पूर्णांक विषयगत र ५० पूर्णांक प्रयोगात्मक हुन्छ । कम्प्युटर भएका अधिकाशंमा इन्टरनेटको समस्या छ । शिक्षा ईकाईमा नगरका सातवटा विद्यालयले इन्टरनेटका लागि बजेट माग गरेका छन् ।

उनले भने ‘जिल्लाभरमा अधिकाशं विद्यालयमा कम्प्युटर भएपनि इन्टरनेट अभाव छ । यसले पनि भएका कम्प्युटर प्रयोगमा आउन सकेका छैनन् ।’ बाँकेका सत्प्रतिशत विद्यालयमा निजी स्रोतका शिक्षकले यो शिक्षा धानिरहेका छन् । उनले भने ‘दरबन्दी माग भएको छ पाईएको छैन् ।’ उपमहानगरकै विद्यालयमा आवश्यकताअनुसार कम्प्युटरको विषयगत शिक्षक छैनन् । त्यहाँ अन्य विषयका शिक्षकले कम्प्युटरको सैद्धान्तिक विषय पढाएका छन् । प्रयोगात्मक भने हुँदैन । कम्प्युटर सम्बन्धी व्यावहारिक ज्ञान भएका शिक्षक नहुँदा प्रयोगात्मक कक्षामा समस्या छ । ‘सरकारले कम्प्युटर शिक्षा त दियो तर, आवश्यक शिक्षक र कम्प्युटर उपलब्ध गराएन,’ उनले भने, ‘कम्प्युटर शिक्षा प्राविधिक भए पनि विद्यार्थीलाई त्यसको ज्ञान दिन सकिरहेका छैनौं ।’

सरकारले विद्यालय शिक्षामा नै विद्यार्थीलाई कम्प्युटरमा दक्ष बनाउने नीति लिए पनि त्यसअनुसारको शिक्षक दरबन्दी र आवश्यक सामग्री उपलब्ध नगराउँदा कम्प्युटर शिक्षा संकटममा परेको उनी बताउँछन् । सरकारले कम्प्युटर शिक्षा ल्याए पनि त्यसको राम्रो व्यवस्थापन गर्न नसकेको हुँदा यो शिक्षा पनि बिरालोको घाँटीमा घण्ट झुन्ड्याएजस्तो भएको छ । विद्यालयमा कम्प्युटर पढाइ भएको छ । उपलब्धि हुन सकेको छैन।