शिखालाई कोरियाबाट आर्थिक सहयोग


शिखालाई कोरियाबाट आर्थिक सहयोग

शिखालाई प्राप्त सहयोग उनको परिवारलाई प्रदान गर्दै सुर्खेतका पत्रकार सुशिलराज शर्मा । तस्वीर सौजन्य नविन शाही

नेपालगन्ज : बोनम्यारो पीडीत शिखा कोइरालालाई कोरियाबाट आर्थिक सहयोग गरिएको छ । दैलेख स्थायी घर भई हाल सुर्खेत बस्दै आएकी पीडीत कोइरालालाई कोरियास्थित सीता शर्माको सक्रियतामा आर्थिक सहयोग गरिएको हो ।

कर्णाली प्रदेशलगायत देशभरबाट रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीको ऐक्यबद्धताद्वारा एक लाख ४४ हजार ४ सय ७ नेपाली रुपैयाँ सहयोग गरिएको हो । उक्त रकमको ‘डिपोजिट भौचर’ सुर्खेतका पत्रकार सुशीलराज शर्माले कोइरालाको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

भौचर हस्तान्तरण गर्दै पत्रकार शर्माले आपतविपदको बेला सहयोग गर्ने नेपालीको संस्कार भएकाले कोरियामा बस्ने नेपालीले कोरोनाको महविपतिमा महादान गरेर महान काम गरेको बताए ।

बोनम्यारो ट्रान्सप्लान्ट गर्न रकम अपुग हुने खबर प्राप्त भएपछि शिखाको जीवन रक्षाको लागि हातेमालो गरिएको सीता शर्माले जानकारी दिईन् । शर्माका अनुसार नेपालबाट कामको शिलशिलामा त्यहा पुगेका ६२ जना नेपालीले सहयोग गरेका हुन् ।

मानवीय सहयोगका लागि एकजुट भएको सुर्खेत समाज दक्षिण कोरियाका कार्यबहाक अध्यक्ष पुष्कर बुढाथोकीले बताए । समाजले यस अघि पनि विभिन्न जिल्लामा अप्ठेरोमा परेकालाई सहयोग गर्दै आएको छ ।

शिखा १८ वर्ष हुँदा उनलाई ब्लड क्यान्सर भएको थियो । उनको ६ महिनाको उपचारपछि निको भएको परिवार स्रोतले जनाएको छ । उनी अहिले २२ वर्षकी भइन् । उनलाइ पुनः ब्लड क्यान्सर बल्झेपछि मंसिर महिनादेखि काडमाण्डौंस्थित सिभिल हस्पिटलको बेड नम्बर २२९ मा बोनम्यारो उपचाररत् छन् ।

‘यही असार १४ गते बोनम्यारो ट्रान्सप्लान्ट हुँदैछ ।’ शिखाको बुवा झलक कोइरालाले भने, ‘शिखाकी बहिनी कल्पना कोइरालाको बोनम्यारो मिल्ने भएपछि ट्रान्सप्लान्ट हुने भएको हो ।’

शिखाको बोनम्यारो प्रत्यारोपणका लागि हालसम्म ९ लाख भन्दा धेरै रकम खर्च भैसकेको झलक कोइरालाले जानकारी दिए । ‘प्रत्यारोपण हुने दिन न्युनतम् १० लाख खर्च हुनसक्ने अनुमान गरिएको छ ।’ झलक कोइरालाले भने, ‘भएजति आर्थिक सकियो । हाल उक्त रकम अभाव भएको छ । सहयोगी हातहरु जुटिरहेका छन् ।’ शिखाको जीवनरक्षाका लागि सहयोग गरिदिन समेत विभिन्न संघ, संस्था तथा व्यक्तिहरुसँग परिवारले अपील गरेको छ ।