आज असार १५ : दही च्युरा खाने पर्व


आज असार १५ : दही च्युरा खाने पर्व

नेपालगन्ज: नेपालमा प्रत्येक वर्ष असार १५ गते दही च्युरा खाने गरिन्छ । यसैदिन वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कोरोना भाईरस महामारीका बाबजुद पनि आज बाँके सहित देशभर धान दिवस मनाइँदै छ । अनि आजकै दिन सबैले दही च्युरा खाने गर्छन् ।
असार १५ लाई नेपाली समाजमा दही च्युरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्युरा खान्छन् । दही च्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

स्वास्थ्यका दृष्टिकोणले पनि दही च्युरा स्वास्थ्यलाई फाइदाजनक रहन्छ । खेतमा धान रोपाई गर्ने त्यसपछि दही च्युरा खाएर हिलो छ्याप्दै मनोरञ्जन गर्ने यो नेपाली खाटी परम्परा हो । न तराई न पहाड सबैतिर असार १५ को रमझमले छोएकोछ । कोरोना महामारीले लामो समयसम्म बन्दाबन्दी भएको देशमा असार १५ ले छुट्टै राहत दिएकोछ ।

अझ किसान जो खेतीपातीमा आत्मनिर्भरछन्, जिविको पार्जन गर्छन् उनका लागि आजको दिन महत्वपूर्ण दिन हो । मानो रोपी मुरी फलाउने दिनका रुपमा प्रचलित आज देशभरका किसानले आफ्ना खेतमा धान रोप्ने गर्छन् ।

पछिल्लो समय शहरबजारमा पनि असार १५ को छुट्टै उत्साह देखिन गरेकोछ । शहरबजारका होटल, रेष्टूँरामा असार १५ आउनु एक हप्ता अघि देखि विभिन्न संघसस्था तथा निकायले दही च्युरा खुवाउने र रमाइलो गर्ने गरेकाछन् । तर, यस वर्षको कोरोना भाइरसका कारण सहरबजारका यसअघि भरीभराउ हुने होटल रेष्टूँरा बन्द छन् ।

देशमा यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा देशभर २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागले जनाएकोछ ।