आज प्रणय दिवस, यसरी भयो सुरुवात


आज प्रणय दिवस, यसरी भयो सुरुवात

नेपालगन्ज : आज युवायुवतीहरूको आकर्षक दिन प्रणय दिवस अर्थात अङ्ग्रेजीमा भ्यालेन्टाइन डे । प्रणय अर्थात प्रेम भन्ने शब्दले नै युवायुवतीमा एक किमिसको कौतुलहता ल्याउँछ । शरीरमा सम्वेदना प्रकट हुन्छ र एक अर्काप्रति आकर्षण पैदा गर्दछ । उनीहरू एक अर्कासँग हेलमेल गर्न चाहन्छन् र नजिक हुने प्रयत्न गर्दछन् । आजको दिन त्यसको लागि उपयुक्त समय मानिन्छ । त्यसैले आज भ्यालेन्टाईन डे विश्वभरि नै मनाइंदैछ ।

युवा युवती माझ लोकप्रिय भ्यालेन्टाईन डेमा एकापसमा पे्रम साटासाट गर्दै यो दिवस मनाउने गरिन्छ । आफुलाई मन परेका ब्यक्तिलाई रातो गुलाब दिने चलन छ । भ्यालेन्टाईन डे मनाउने पश्चिमा संस्कृति भए पनि नेपालमा यसप्रतिको आकर्षण केही बर्ष यता ह्वात्तै बढ्दै गएको छ । युवा युवतीले यस अवसरमा विभिन्न प्रतियोगितासमेत गर्छन् ।

भ्यालेनटाइन डे कसरी मनाउने गरियो, त्यसबारे अधिकांशलाई थाहा छैन । आजका कतिपय मानिसहरू त्यो कुरा थाहा पाउन त्यति उत्सुकता पनि जनाउँदैनन् । उनीहरूले यो दिवसलाई फेशनका रूपमा लिने गरेका छन् र फेशनमा बहकिएर प्रेम प्रकट गर्ने अवसरका रूपमा लिने गरेका छन् । त्यसैले जानेर, नजानेर भरखरका किशोरकिशोरी पनि गिफ्ट दिन र लिन उत्सुक हुन्छन् । कस्मेटिक प्रेमको प्रभावमा पछि पछुताउने गरेकाछन् ।

बाँकेको नेपालगन्जमा आज प्रणय दिवसका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिदैछ । नेपालगन्ज जुनियर जेशिजद्वारा मनसून भ्यालेन्टाइन नाम दिइ कार्यक्रमको आयोजना गर्दैछ ।
बेलुकी पाँच बजे नेपालगन्ज स्थित सोल्टी होटलमा आयोजना हुने सो कार्यक्रममा सहभागिहरुबीच विभिन्न रोमान्टिक खेलहरु खेलाइनेछ । कार्यक्रमका बारेमा जानकारी दिदै शिशिर मेचेले भने हाम्रो मनसून भ्यालेन्टाईनमा सहभागिहरुबीच फोटो कन्टेस्ट, कपल तथा सिंगल गेम, पेपर डान्स, डिजे डान्स पार्टी, ¥याम्प वाल्क लगायतका कार्यक्रम आयोजना हुने बताए । उनले भने कार्यक्रमको अन्तमा प्रपोज नाईट नाम दिइएको कार्यक्रममा सहभागिहरुले रोमान्टिक तरिकाबाट आफ्ना जोडीलाई प्रेम प्रस्ताव राख्नेछन् ।

यस दिन युवायुवती एक अर्कासँग नजिक हुन र हेलमेल गर्न एकले अर्काका लागि उपहार दिने गर्दछन् । सँगै बसेर खान निम्त्याउँछन् र त्यो कोमल हृदयभित्रको भावना साटासाट गर्दछन् । ती सबै काम गर्नका लागि उनीहरू यो समाजमा अलि उकुसमुकुसको अनुभव गर्दछन् र खुल्ला र अनुकूल स्थानमा जान र बस्न मन पराउँछन् ।
कतिपय युवायुवती भावनामा वहेर तथा आजको दिनमा प्रेम प्रस्ताव राख्नु राम्रो हो भनेर प्रेम प्रस्ताव राख्ने गरेको पनि सुनिन्छ । प्रेम गरेकाहरू आफ्ना प्रेमलाई अरु दरिलो र मजबुत पार्ने प्रयास गर्दछन् र उनीहरूमध्ये कतिपयले प्रेम विवाह गर्ने फैसला पनि गर्दछन् । ती सबैका लागि भ्यालेन्टाइन डे उपुक्त समय ठान्दछन् । तर हाम्रो समाजको अर्को पक्षले भ्यालेन्टाइन डेलाई पश्चिमी संस्कृति भनेर युवायुवतीलाई सकेसम्म त्यसबाट प्रभावित नहुन आग्रह गर्ने गरेको छ । तर यो संस्कृति यति जोडबलका साथ आएको छ कि अब यसलाई रोक्नु त्यति सजिलो छैन । युवायुवतीले यसलाई एक महत्वपूर्ण पर्वका रूपमा लिइसकेका छन् ।

गिफ्ट पसल र रेष्टुरेन्टमा भ्याईनभ्याई
भ्यालेन्टाईन डे नजिकिदै गर्दा केही वर्षदेखि नेपालगन्जका गिफ्ट पसलमा गिफ्ट लिन युवायुवतीको सङ्ख्या बढ्दो छ । विभिन्न डिजाईन र ब्राण्डका उपहारहरुको माग बढ्दो छ । नेपालगन्ज सहरका न्यूरोड, सदरलाईन, एकलैनी, घरबारीटोल, बागेश्वरी मन्दिर प्राङ्गणमा खुलेका गिफ्ट पसलमा युवायुवतीको विहानैदेखि भीड लागेको देखिन्छ । यस्तै भ्यालेन्टाईन डे लाई लक्षित गरि यस दिन नेपालगन्जका होटल तथा रेष्टुरेन्टले पनि विशेष छुटका साथ विभिन्न स्पेशल प्याकेजहरु दिने गरेकाछन् । यतीखेर रेष्टुरेन्टमा उनीहरूको उपस्थिति देख्दा यो पर्व हाम्रो समाजमा स्थापित भएको प्रष्ट हुन्छ । राजधानी काठमाडौंबाट फैलिएको यो हावा यतिवेला देशका विभिन्न सहरमा पुगिसकेको छ । अब भ्यालेन्टाईन डे सहर केन्द्रित मात्र रहने यो त दुर्गम गाँउहरुमा पनि पसिसकेकोछ ।

कसरी मनाउन थालियो भ्यालेन्टाइन डे
यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो–अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । पाश्चात्य संस्कृतिको प्रभाव पछिल्लो समय नेपाल ब्यापकरुपमा फैलिएकोछ । यसदिन विश्वभरि नै उत्सवको रूपमा मनाउने गरिन्छ ।

के माया प्रेमलाई यसै दिनले मात्र सम्बोधन गर्दछ ?
यो दिनमा मात्र प्रेम गर्ने हो त ? प्रेमको प्रतिक युवा युवतिमात्र हुन त ? प्रेम र मोहमा फरक छैन त ? मानव जीवन र प्रेमको बृहत दायरा छैन त ? प्रेमको जिवन्तता र सार्थकता के हो ? प्रेम विनाको जिवनमा परिवारमा, ब्रहमाण्ड र समग्र विश्व रहन सक्ला ? यसको जवाफ आफै खोज्नुहोस् ।

प्रेम वासना भन्दा माथि होस्, प्रेम मानवता परिधिमा समाहित होस्, जीवन र जगतको कल्याणमा होस् । हरेक आत्माले सम्मान्श्रद्धा र विश्वास गरोस् । असल भावनाको कदर गरोस् । खुशी र सन्तुष्टी बढाओस् । सर्वजन हिताय सर्वजन सुखायको भावलाई सदैब आत्मसात गरोस् । सम्मान सभ्यता सँस्कृति र मर्यादालाई सदैव दण्डवत गरोस् । प्रेम गर्ने होईन हुने हो अभिव्यक्ति होईन महशुस गर्ने हो । मन मुटु र मगजको संगम हो समर्पण र विश्वासको माला हो । संसारकै अमूल्य नीधि हो ।
हामीकहाँ बाहिरको कुराले छिटो प्रभाव पार्दछ । त्यसमा पनि यो विषय नै यस्तै प¥यो । प्रेम गर्नुलाई नराम्रो भन्ने अवस्था अहिले रहेन । कुरा यत्ति हो कि कुन उमेरमा कसरी गर्ने सोच्नुपर्नेमा कुरा त्यो हो । एउटा मर्यादामा रहेर भविष्यको ख्याल गर्नु आवश्यक छ । अन्यथा प्रेम गर्नु राम्रो कुरा हो । राम्रो काम कुरा गर्नेलाई हामीले शुभकामना दिर्नुपर्दछ । भ्यालेन्टाइन डे को उपलक्ष्यमा हाम्रो यही शुभकामना छ ।