नेपालगन्ज : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाँकेको बागेश्वरी मन्दिर लगायत देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको यकिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी, बागेश्वरी मन्दिर लगायत देशभरका धार्मिक स्थलहरुको जग्गा एकिन गर्न सरकारलाई निर्देशन दिएको हो ।
धार्मिकस्थलहरुको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउने कार्य अगाडी बढाउन पनि समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समिति सभापति पवित्रा निरौलाले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालिगढ उत्पादन गर्ने योजना बनाउन पनि निर्देशन दिएइको बताइन् ।
समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचिन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ । पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्ड अनुसार काम अघि बढाउन पनि निर्देशन दिएको छ ।
यस्तै संघ प्रदेश र स्थानीय तहको समन्वयमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्दै समयअनुकुल ढंगले विकास गर्न पनि समितिले निर्देशन दिएको छ । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको ८४ विघा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ विघा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन नसकेको हो ।
मन्दिरको सम्पति सार्वजनिक गर्दा ८४ विघा जमिन कानुनसम्मत हो कि अवैधानिक रुपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन अझै सकिएको छैन ।
२०२७ पुस १३, २०२८ कार्तिक १४ र २०५७ असोज १७ गतेको निर्णय अनुसार बागेश्वरीको नाम कट्टा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ विगाह जमिन करिब तीन सय जनाको नाममा नामसारी भएको छ । तर, त्यतिबेलाका निर्णयहरु प्राप्त हुन सकेको छैन ।