८५ बर्षमा नागरिकता

सद्भाव समाचार प्रभाव


८५ बर्षमा नागरिकता

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका ६ गनापुरकी ८५ वर्षीया महिला चमेला कलवारले बिहीबार मात्रै नेपाली नागरिकता प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमरराज सेजवालले बताए । केही दिनअघि सद्भाव दैनिकले गनापुरकी बृद्ध महिला नागरिकता पाउनबाट बञ्चित शिर्षकको समाचार प्रकाशित समेत गरेको थियो । समाचार प्रकाशित भएको तीन दिनमै प्रशासनले ८५ वर्षीय एक महिलालाई नागरिकता प्रदान गरेको प्रशासकीय अधिकृत सेजवाल बताउँछन् ।
चार भाई छोराकी आमा नागरिकता नभएका कारण लामो समयसम्म सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएकी थिईन् । गाउँपालिकाको वडा नंम्बर ६ का वडा अध्यक्ष सुरेश अहिरको पहलमा ८५ वर्षीया महिलाले नागरिकता पाउन सफल भएकी हुन् । केही दिनअघि चमेलाका छोरा चुनमुन बसाईसराईका लागि वडा कार्यालय पुगेका थिए । जहाँ उनलाई वडा अध्यक्ष अहिरले आमाको नागरिकता नबनाई बसाईसराई गरे समस्या पर्ने भन्दै दबाबमुलक सुझाव दिएका छन् ।

मधेसी समुदायमा अहिले पनि नागरिकता बनाउन मनाउन सकस देखिएको भन्दै वडा अध्यक्ष अहिरले बताए । वडामा सबैको नागरिकता बनाउन बालबालिकाको जन्मदर्ताका लागि आमा बुवाको नागरिकता अनिवार्य गरेको उनले जानकारी दिए ।