बैदेशिक रोजगार : लकडाउनमा ४५६ को मृत्यु, १०९ शब बिदेशमै अलपत्र


बैदेशिक रोजगार  :  लकडाउनमा ४५६ को मृत्यु, १०९ शब बिदेशमै अलपत्र

नेपालगन्ज : नेपाल आत्मनिर्भर हुन नसक्दा नेपाली युवा बैदेशिक रोजगारीका लागि खाडी लगायतका मुलुकमा जाने गरेका छन् । यसरी रोजगारीमा जानेमध्ये धेरैको पैसा कमाउने नेपाल फर्कने र सुखी, खुशी जीवन विताउँने सपना अधुरै रहने गरेको छ ।

बैदेशकि रोजगारीमा गएका मध्ये लकडाउनको समयमा ४ सय ५६ जना नेपाली युवायुवतीको विदेशमा मृत्यु भएको बैदेशिक रोजगार विभागसँग रेकर्ड छ । तीमध्ये १ सय ९ शव विदेशमै अलपत्र परेको बैदेशिक रोजगार विभागको पछिल्लो रेकर्डले देखाएको छ ।

बिदेशमा मृत्यु भएकामध्ये १ सय ६४ जनाको दुई देशीय र पारिवारिक सहमतिबाटै विदेशमै दाहसंस्कार गरिएको छ । ८५ जनाको शव स्वेदश फिर्ताका लागि निवेदन दर्ता भएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार ९८ जनाको शव स्वदेश ल्याई सम्बन्धित परिवारलाई बुझाइएको छ । मृत्यु हुनेमा अधिकांश खाडी मुलुकका रहेका छन् ।

वैदेशिक रोजगारीमा गएका मुलुक युएई, कतार, साउदी अरब, बहराइन, मलेसिया, कुवेत, जेद्दाह, दक्षिण कोरियालगायत ८ देशमा नेपालीको मृत्यु भएको विभाग बताउँछ ।

विभागका अनुसार युएइमा ८० र कतारमा ७५ जनाको मृत्यु भएको छ । साउदीमा १ सय ५८ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ८ जनाको मृत्यु भएको छ । जेद्दाहमा १३ जना, बहराइनमा १० जना, मलेसियामा ६६ जना, कुवेतमा २२ जना, अन्य २४ गरी ४ सय ५६ जनाको मृत्यु भएको कन्सुलर विभाग बताउँछ ।

युएईमा ८० जनाको मृत्यु भएकोमा ५८ जनाको दाहसंस्कार युएईमा नै गरिएको, १३ जनाको स्वेदश फिर्ताका लागि निवेदन आएको, १ जनाको शव ल्याई परिवारलाई बुझाइएको र ८ जनाको शव अलपत्र परेको छ ।

कतारमा ७५ जना मृतकमध्ये २५ जनाको शव कतारमै दाहासंस्कार गरिएको, १० जनाको शव स्वेदश फिर्ताका लागि निवेदन दिइएको, २३ जनाको शव स्वदेश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको छ । १७ जनाको शव अलपत्र रहेको छ ।

साउदी अरबमा १ सय ५८ जनाको मृत्यु भएकोमा ३७ जनाको उतै दाहासंस्कार गरिएको छ । ३९ जनाको स्वदेश फिर्ताका लागि निवेदन दिइएको छ ।

५३ जनाको शवस्वदेश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको छ । त्यहाँ २९ जनाको शव अलपत्र परेको छ । जेद्दाहमा १३ जनाको मृत्यु भएको छ । ३ जनाको उतै दहासंस्कार गरिएको १ जनाको स्वदेश फिर्ताका लागि निवेदन आएको छ । दुई जनालाई स्वेदश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको छ । त्यहाँ ७ जनाको शव अझै अलपत्र रहेको छ ।

बहराइनमा १० जनाको मृत्यु भएको ३ जनाको शव उतै दाहसंस्कार गरिएको छ । सात जना स्वेदेश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको थियो । मलेसियामा ६६ जनाको मृत्यु भएको छ । १२ जनाको स्वदेश फिर्ताको निवेदन दिइएको छ । एकजनाको शव सम्बन्धित परिवारलाई बुझाइएको र ४५ जनाको शब अलपत्र छन् । कुवेतमा २२ जनाको मृत्यु भएको छ । १० जनाको उतै दाहसंस्कार गरिएको, २ जनाको स्वदेश फिर्ता गर्न निवेदन दिइएको छ ।

दश जनाको शव स्वदेश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको छ । दक्षिण कोरियामा ८ जनाको मृत्यु भएको, ५ जनाको उतै दाहसंस्कार गरिएको, ३ जनाको स्वदेश फिर्ताका लागि निवेदन आएको छ ।

यीबाहेक अन्य देशमा २४ जनाको मृत्यु भएको, १५ जनाको उतै दाहसंस्कार गरिएको, ५ जनाको स्वदेश फिर्ताका लागि निवेदन दिइएको, १ जनाको शवस्वेदश फिर्ता गरी सम्बन्धित परिवारलाई बुझाइएको र ३ जनाको शव अलपत्र रहेको विभाग बताउँछ ।