मनमोहक भनिएको नेपालगन्जको वाटरपार्कमा देखिएको फोहर । उक्त फोहर व्यवस्थापन गर्न वाटरपार्क व्यवस्थापन समिति तथा सम्बन्धित निकाय मौन रहेकाछन् । तस्विर : कमल न्यौपाने /सेतोखरी
वाटरपार्क (नेपालगन्ज) : गएको जेठ ३२ गते यहि कलमजीवीले ‘वाह ! मनमोहक ‘वाटरपार्क’ शीर्षकमा खुबै रोमान्टिक रूपमा वाटरपार्कको बख्यान गरेको थियो । उक्त समाचार सेतोखरीमै प्रकाशित भएपछि करिब चार सय शेयर भएको थियो । लाइक र कर्मेन्ट त कुरै नगरौं । यो कलमजीवीको कलमले कोरेका शब्द र वाटरपार्कको फोटो देखेरै सयौं नागरिक जेठ ३२ पछि घुम्न, हेर्न रमाउँन आनन्द लिन वाटरपार्क पुगेका थिए । र, अहिले पनि पुगिरहेका छन् । नेपालगन्जको ‘ड्रिम प्रोजेक्ट’ वाटरपार्क क्षेत्रको निर्माणकार्य पनि भैरहेको छ । लगभग अन्तिम चरणमा पुगेको देखिन्छ । लकडाउनको आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी वाटरपार्क क्षेत्रको सौन्दर्यीकरणको काम भएको थियो ।
जेठ ३२ गते यो कलमजीवी वाटरपार्कको किनारमा भौतारिदा यहाँ घुम्ने, जेठको गर्मीमा बेलुकाको मन्द चिसो हावा खाने, दिनभरीको कामको बोझ र थकान मेटाउन सयौं नागरिकहरू उर्लिका थिए । तलाउमा आएको परिवर्तन र सुधारले त्यसै सुन्दर देखिएको वाटरपार्क नागरिकको भीडले त ऐतिहासिक भक्तपुरको सिद्धपोखरीकै झल्को दिएको थियो । तर, करिब डेढ महिनापछि शुक्रबार फेरि यो कलमजीवीले वाटरपार्कमा फन्को लगाएको छ । जेष्ठ ३२ मा मनमोहक वाटरपार्क देखेको कलमजीवीले त्यसयता थुप्रै विकास र सुन्दरताले वाटरपार्क भरिभराउ भएको होला भन्ने ठानेको थियो । बिडम्बना उसको अपेक्षा ठिक उल्टो देखियो ।
डेढ महिनाअघि मनमोहक देखिएको वाटरपार्क शुक्रबार दुर्गन्धले भरिएको थियो । सफा पानी देखिएको तलाउमा जताततै फोहोर थियो । वार्टरपार्कको तलाव किनारमा मिनरलवाटरका बोत्तल, यत्रतत्र फालिएका थिए । छेउको सडकमा फोहोरको डंगुर देखिएको थियो । तैपनि साँझको समय तलाउ किनारमा नागरिकले आनन्दसँग लिइरहेका थिए । एक महिना अघि मनमोहक देखिएको वाटरपार्कमा यतिेबला फोहोर भरिदै गएको छ । सफा गर्नलार्य ठेक्का त भएको सुनेको छु स्थानीय राजकुमार चन्दले भने ‘केहीदिन अघिको तुलनामा वाटरपार्क अहिले दुर्गन्धित र फोहोरी बन्दै गएको छ । ’ वाटरपार्क छेउमै भेटिएकी सीता शाही संरचना निर्माणसँगै यसको संरक्षण र सरसफाईमा पनि उत्तिकै ध्यान दिन सक्नुपर्ने बताउँछिन् । उनकाअनुसार वाटरपार्कलाई बाँकेकै पर्यटकिय स्थल बनाउँने हो भने संरचना निर्माण मात्र होइन यसको संरक्षण, प्रबद्र्धन र सरसफाईमा गम्भीर हुन आवश्यक छ । वाटरपार्कको उत्तरी भाग किनारमा थुप्रिएको पानीमाथिको फोहोरले मनमोहक भनिएको वाटरपार्कको सौन्दर्यतामा समेत प्रश्न खडा गरेको छ ।
सुरक्षाका हिसाबले वाटरपार्कको वरिपरि रेलिङ निर्माण छ । आसपासमा खुल्ला चौर भएकैले पनि चिसो हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यकरणलाई ध्यान नदिने हो भने यहाँको लगानी वालुवामा पानी झै हने निश्चित देखिएको स्थानीय बुद्धिजीवी बताउँछन् ।
नगर विकास समितिबाट हस्तान्तरण भएको सो प्रोजेक्टको कामलाई उपमहानगरपालिकाले युद्धस्तरमा अघि बढाएको हो । झण्डै १३ वर्ष पुरानो उक्त ड्रिम प्रोजेक्टअन्तर्गत अहिले सो सडक कालोपत्रको कामलाई सञ्चालन गरिएको छ । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमा आधुनिक बस्ती बसाउने गरी प्रोजेक्ट सञ्चालन गरिएको हो । सो क्षेत्रमा करिब एक हजार बढी घरधुरी बसाउने योजना छ ।
धम्बोझी–१ को उत्तरपश्चिममा पर्ने वाटरपार्कको कूल क्षेत्रफल मध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका बिहार र पौडी पोखरीका रूपमा विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक फूलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिएको छ । तर, यसको संरक्षणमा वडापालिका र स्थानीय उदासिन देखिएका छन् ।