नेपालगन्ज : आज फाल्गु ७ अर्थात प्रजातन्त्र दिवस । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।
यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले मङ्गलबार विहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना ग¥यो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायत देशका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
यसअघि प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको थियो । दिवसलाई भव्यरुपमा मनाउन दिवसकै अवसरमा सञ्चार मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापा माध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तरिक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान समेत गरेकोछ ।
हिन्दुराष्ट्र र राजसस्था पुर्नस्थापनाका लागि राप्रपको विरोध जुलुस
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज बाँके जिल्ला प्रशासन कार्यालय घेराउ गरिदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बाँकेले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज १२ बजे पार्टी कार्यालयबाट सुरु हुने ¥यालीले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गर्ने जनाएको छ । राप्रपाले हिन्दुराष्ट्र र राज सस्था पुर्नस्थापना लगायत २२ बुदेँ माग सम्बोधन गराउन दवाव सिर्जना गर्नका लागि सो विरोध जुलुसको आयोजना गरिएको राप्रपाका नेता तेजनारायण कडँेलले बताए ।

यतिवेला पार्टी कार्यालयमा कार्यकर्ता, सुभेच्छुक, सर्वसाधरणको उपस्थित बाक्लिरहेको छ । केही बेरमै हामी नारा लगाउदै नगर परिक्रममा गरि बाँके जिल्ला प्रशासन कार्यालय घेराउ गर्नेछौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्व घोषित कार्यक्रम अन्र्तग हिन्दुराष्ट्र, राजसंस्था लगायत बिभिन्न २२ बुदे माग सहित आज राप्रपाले देशभरिका जिल्ला प्रशासन कार्यालय घेराउ गरि सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले बताए ।
राष्ट्रपतिदेखी पूर्वराजाले के भने ?

प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस् :राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा शुभकामना सन्देश दिदैं राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा ऊर्जा दिने विश्वास व्यक्त गरेकी छिन् ।
‘आज ६९ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस्’, सन्देशमा भनिएको छ ।

समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा :प्रधानमन्त्री
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा आइपुगेको दाबी गरेका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् ।
देश समृद्धिको यात्रामा अघि बढिसकेकाले नेपालीको दशकौंदेखिको विकास र समृद्धिको सपना पूरा हुने विन्दुमा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएकाले विश्वस्त हुन सवैलाई आग्रह गरे ।
‘निरंकुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौं’, प्रधानमन्त्री ओलीले दिएको सन्देशमा उनल अघि भनेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।’
प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्छः पूर्वराजा ज्ञानेन्द्र

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको अनुभूति आम नेपालीमा अझै पनि हुन नसकेको बताएका छन् ।
उनले सोमबार एक विज्ञप्ति प्रकाशन गर्दै पुर्खाहरूको पुर्ख्यौली आदर्श प्रजातन्त्र भएको भन्दै पछिल्लो अवस्थामा प्रजातन्त्र भित्र सबै नेपाली अटाउने प्रणाली नभएकोमा दुःख व्यक्त गरेका छन् ।
‘हामी र हाम्रा पूर्खाको पुर्ख्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरूप लिन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनुरूप प्रजातन्त्रको त्यस्तो अनुभूति आम नेपालीमा छैन ।’
शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुने र दण्डहिनता एवम् विधिविहिनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । उनले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहेको भन्दै चिन्ता गरेका छन् ।
‘यसरी राष्ट्रप्रतिको निष्ठमा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्रियता दिन प्रति दिन कमजोर बनिरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुने र दण्डहिनता एवम् विधिविहिनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,’ उनले भनेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले धर्म परिवर्तनका विषयमा पनि दुखेसो पोखेका छन् ।
उनले जारी गरेको विज्ञप्तीमा ‘हाम्रो आफ्नो सनातनिक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवम् मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखा परेको छ,’ उनले अगाडि भनेका छन्, ‘त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानुपर्छ भन्ने हाम्रो दृढ धारणा रहेको छ ।’
उनले नेपालको भू–राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्रिय तथा मैत्री सम्बन्धलाई सुमधुर, शालिन र सौम्य कुटनीतिक व्यवस्थाद्वारा हामीप्रतिको आधारभूत विश्वसनीयता स्वस्थ रूपमा अघि बढाउन सक्नुपर्ने बताएका छन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा