नेपालगन्ज : मुस्लिम धर्मावलम्वीको मोहरर्मलाई मध्यनजर गर्दै सजगता र सतर्कता अपनाइने सम्वद्ध अधिकारीले बताएका छन् । कोभिड– १९ को विषम परिस्थितीकाबीच नजिकीएको मोहरर्ममा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दै थप सजग हुनुपर्ने आवश्यक्ता औल्याइएको छ ।
विवाद, द्वन्द्व व्यवस्थापनमा क्रियाशिल सवाद समूह बाँके अन्तगर्त सम्वाद सहयोगी समूह, नरैनापुरले १४ गतेको मोहरर्म, सम्भावित तयारी र सतर्कता बारे बिहीबार नरैनापुरमा गरेको सरोकारकारवालासँगको अन्तर सम्वादमा सो औल्याइएको हो । जनप्रतिनीधी, सुरक्षा प्रतिनीधी, मौलाना, सम्वाद सदस्यसहितको अन्तरक्रियात्मक सम्वादमा आईतबार मनाइने मोहरर्ममा यसपाली भिडभाड हुन नदिन माइकिङ लगायतको तयारी गर्ने निर्णय गरिएको छ ।
सामाजिक दूरी कायम राख्न माइकिङ गर्ने, ताजीया सेलाउन सिमित व्यक्ति जाने र ¥याली लगायतका क्रियाकलाप नगर्ने, साँझ ६ बजेसम्म मोहरर्मका सम्पूर्ण क्रियाक्लाप समापन गर्ने, शान्ति, सद्भाव कायमका लागि वडा अध्यक्ष, सुरक्षाअधिकारीसहित स्थलगत निरिक्षण गर्ने लगायतका निर्णय भएको सम्वाद सहयोगी समूहका संयोजक एवं सहजकर्ता मकबुल मुकेरीले जानकारी दिए ।
अन्तर सम्वादमा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश प्रसाद शर्मा, ईलाका प्रहरी कार्यालय नैरनापुरका प्रहरी नायव निरीक्षक श्यामराज अर्याल, बीओपी नरैनापुरका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवालबाटा, मौलाना सेहेर आलम दर्जी, मुस्लिम अगुवा अरिफ मोहम्मद खाँ, सम्वाद सहयोगी सदस्यहरु अजय कुमार मिश्रा, सुरज श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।
सम्वाद समूह, बाँकेले विभिन्न चाडपर्वमा हुन सक्ने सम्भावित विवादलाई आकलन गर्दै आवश्यक सहजिकरण गर्दै आएको छ । यस अघि नेपालगन्जमा पनि मोहरर्मका भिडभाड हुने कार्यक्रम स्थगित गरिएको जनाईसकिएको छ ।