१३ दिनमा ३१ कारवाही


१३ दिनमा ३१ कारवाही

नेपालगन्ज : ट्राफिक प्रहरी कार्यालय बाँकेले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको १३ दिनमा ३१ वटा कारवाही गरेको छ ।
ट्राफिक प्रहरीले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ३१ सवारी साधनलाई कारवाही गरेको बाँके ट्राफिक प्रहरीका निमित्त प्रमुख ओम पौडेलले बताए ।

लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई जाँचका क्रममा कारवाही गरिएको उनले जानकारी दिए ।  प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे÷नराखेको जानकारी लिन बाँकेको चप्परगौडीमा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो ।

यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकायले बताए ।
लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण भएको उनले बताए ।

उनकाअनुसार ३१ सवारी कारवाहीबाट ३१ हजार नै राजश्व संकलन भएको छ । पहिलो पटक एक हजार दोस्रो पटक एक हजार पाँचसय र त्यो भन्दा बढी भए सोही अनुसार जरिवाना काट्ने गरिन्छ । चालकले पटक–पटक गरी पाँच पटक बढी यस्तो नियम उल्लघन गरेको अबस्थामा चालकको लाइसेन्स नै खोरेज गर्ने प्रावधान छ । उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुगामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश पाँचको बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो ।