सम्झनामा स्वर्गीय पन्नालाल ‘चाचा’


सम्झनामा स्वर्गीय पन्नालाल ‘चाचा’

नेपालगन्ज : प्रेस स्वतन्त्राता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’लाई नेपाल प्रेस युनियन बाँकेले सम्झेको छ । युनियन बाँकेका सस्थापक अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल ‘चाचा’ को ९२ औं जन्मजयन्तीका अवसरमा युनियन बाँकेले प्रेस विज्ञप्ती जारी गर्दै सम्झिएको हो । विस १९८५ साल भदौं २७ गते जन्मिएका चाचाको गत वर्ष माघ १५ गते ९१ वर्षको उमेरमा निधन भएको थियो ।

‘उहाँको संघर्ष, पत्रकारिता र लोकतन्त्र प्रतिको त्याग, निष्ठा, ईमान्दारिता र सादगीपूर्ण जीवनशैली हाम्रा लागि सदैव अनुकरणीय रहनेछ ।’ स्वर्गीय चाचाको जन्मदिनका अवसरमा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएकोछ ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको आन्दोलनमा उहाँको सक्रिय सहभागिताले सबैलाई उर्जा थपेको थियो । साप्ताहिक किरणका सम्पादकको रुपमा निरन्तर दशकौं लामो पत्रकारिता यात्राका दौरान जेल सजाय समेत व्यहोर्नु भएका चाचाजीले पत्रकारिता प्रतिको आफ्नो मान्यतामा कसैसंग सम्झौता गर्नु भएन । पेशागत मर्यादामा कहिल्यै नचुकेका चाचाजी पत्रकारिता पेशामा नाती पुस्ता सक्रिय भईसक्दा पनि आफु स्वयं साईकलमा रिपोर्टिङ गर्नु हुन्थ्यो, जुन नयाँ पुस्ताका लागि प्रेरणा बन्थ्यो ।’

युनियन अध्यक्ष ओलीले सार्वजनिक गरेको विज्ञप्तीमा अगाडी भनिएकोछ ‘गुप्तालाई सम्मान स्वरुप नेपाली पत्रकारले, सिंगो नेपालगन्ज शहरले ‘चाचाजी’ भनेर सम्मानले बोलाउने गरेको हो । उहाँले पत्रकारिता मार्फत समाज र लोकतन्त्रलाई पु¥याएको योगदान स्वरुप दुई वर्ष अघि नेपाल प्रेस युनियन बाँकेको संयोजनमा नागरिक अभिनन्दन गरिएको थियो । उहाँको सम्मानमा युनियनले ‘पन्नालाल गुप्ता चाचाजी राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।’

‘चाचाजी भौतिक रुपमा हामीबीच नरहेपनि उहाँले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान अमिट रुपमा रहिरहनेछ । उहाँको पदचाप र योगदानलाई जोगाइरहनु नेपाल प्रेस युनियन बाँकेको जिम्मेवारी पनि हो । नेपाली पत्रकारहरुका प्रेरक व्यक्तित्व अग्रज पत्रकार गुप्ताको निधनले सिंगो नेपाली पत्रकारिता जगतले अभिभावक गुमाएको महसुस गरिरहेको छ । स्वर्गीय चाचाजीप्रति भावपुर्ण श्रद्धाञ्जली !’ युनियन बाँकेका अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तीमा भनिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना भाइरस संक्रमणकाबीच स्वर्गीय पन्नालाल चाचाको जन्मजयन्तिका अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नसकिएको युनियन बाँकेले जनाएकोछ । यसअघि उनको जन्मदिन युनियन बाँकेले मनाउदै आएको थियो ।

यसबिच किरण साप्ताहिक र प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता प्रतिष्ठानले आईतबार श्रद्धाञ्जली सभा गर्ने तयारी गरेकोछ ।