सट्टा शिक्षक धरापमा


सट्टा शिक्षक धरापमा

नेपालगन्ज । सरकारले सट्टा शिक्षक राख्न नपाउँने र राखेको भेटिएर कानूनी कारवाही गर्ने नीति लिएको छ । तर, बाँकेका नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका सरकारी विद्यालयमै सट्टा रहेको खुलेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा तीन जना सट्टा शिक्षकहरू लामो समयदेखि कार्यरत रहेको भेटिएको छ । उपमहानगरभित्रैका विद्यालयमा यस्तो भेटिदां जिल्लाका दुर्गम गाउँमा रहेका सामुदायिक विद्यालयको अबस्था कस्तो होला ? यो आम नागरिकको चासोको बिषय बनेको छ ।

नेपालगन्ज उपमहानगरपालिका मात्र नभई कोहलपुर नगरपालिकाकामा एक जना र नरैनापुर, डुडुवा, जानकी र खजुरा गाउँपालिकामा एक-एक जना सट्टा शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बाँकेका प्मुख गोरखबहादुर थापा बताउँछन् । विगतमा केन्द्र सरकारबाट विद्यालयहरुको शैक्षिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्रोत केन्द्र स्थापना गरिएको थियो । स्रोतव्यक्तिको दरबन्दीमा नियुक्त बाँकेका ८ जना सट्टा शिक्षकको जागिर धरापमा परेको उनले जानकारी दिए ।

सरकारले स्रोतव्यक्तिलाई साविकको दरबन्दीमा काज फिर्ता गर्ने निर्णय गरेपछि सट्टा शिक्षकको भविष्य अन्यौलमा परेको हो । स्रोतव्यक्तिको सट्टामा जागीर खाएका शिक्षक बाँकेमा ८ जना रहेको यही फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले स्रोतव्यक्ति हटाउने र उनीहरुको सट्टामा कार्यरत शिक्षकलाई माघ महिनासम्मको तलब दिएर विदा गर्ने निर्णय गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरिसकेको उननले बताए ।

स्रोतकेन्द्रमा हाल कार्यरत स्थायी शिक्षकहरुलाई दरबन्दी रहेको सम्बन्धित विद्यालयमा साविकको पदमा काज फिर्ता गर्ने र स्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत सट्टा शिक्षक एवम् अस्थायी स्रोत व्यक्तिहरुलाई अवकास दिने निर्णय सरकारले गरेको छ ।