नेपालगन्ज : बाँके नरैनापुरमा रहेका बाबा बर्फानीमाथि भएको सांघातिक हमलाको हिन्दूबादी संघसंस्थाले विरोध जनाएकाछन् । भदौ ३० गते राती करिब १२ बजेतिर बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ३ पहाडी चोटीमा रहेका बाबा बर्फानीमाथि सांघातिक हमला भएको थियो ।
बाबामाथी ज्यान लिने उद्देश्यका साथ भएको हमलाको विरोध गर्दै दोषीलाई याथशिघ्र कानूनी दायरामा ल्याउन बाँकेमा रहेका हिन्दूबादी संघसस्थाले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाछन् । बाँकेका हिन्दूबादी संघसस्थाका अगुवाहरुको एक टोलीले बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्री समक्ष उक्त ज्ञापन पत्र बुझाएको हो ।
बाँकेका हिन्दूबादी संघसस्थाले ‘बरर्फानी बाबा बचाउ संघर्ष समिति’ नै गठन गरि दोषीमाथि कारबाहीको माग गरेकाछन् । उनीहरुद्वारा जारी ज्ञापन पत्रमा भनिएको छ–‘बाबा बर्फानीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै उक्त घटनामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ गरि कानूनी कारबाही गरियोस् ।’
‘हामीहरु बाबा बर्फानीको सुरक्षा ब्यवस्था मिलाउन सरकारसंग माग गर्दछौं । निरन्तर हिन्दु आस्था र बाबा बर्फानीमाथिको आक्रमण बढ्नुले बाँकेको फितलो सुरक्षा ब्यवस्थापन प्रदशित गरेकोछ । यस किसिमका हिंसा विरुद्ध सरकारले विशेष पहल गरि समयमै अपराधिक तत्वलाई निरुत्साहित गर्न अपील गर्दछौं ।’ जारी विज्ञप्तीमा भनिएकोछ ।
घाईते बाबाको तत्तकाल उपचारका लागि चिकित्सकको ब्यवस्था गरि उनको सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्न अनुरोध गर्दै बाबा बर्फानी र हिन्दु आस्थामाथि अब उपरान्त कुनैपनि प्रकारको प्रहार भए हिन्दु संघ संगठनसहित हिन्दु समुदाय त्यसको प्रतिकारमा उत्रिने र त्यसबाट सिर्जना हुने स्थितीको जिम्मेवार सरकार स्वयम हुनुपर्ने ज्ञापनपत्रबाट चेतावनी दिइएकोछ ।
पछिल्लो समय नेपालमा साधुसन्त, धार्मिक स्थलमा आक्रमण बढ्दै गएकोले यस्ता आक्रमण र घटनाको घोर निन्दा गर्दै दोषीमाथि कडा कानूनी कारबाही गरिनुपर्ने विश्व हिन्दु परिषद् नेपाल बाँकेका अध्यक्ष बृजेश बहादुर सिंहले बताए ।
विश्व हिन्दु परिषद् नेपाल बाँकेका अध्यक्ष बृजेश बहादुर सिंह, शिवसेना बाँके नेपालका अध्यक्ष राजकुमार रौनियार, आर्य समाजका कोषाध्यक्ष श्याम शाक्य, मंगल घर्तीमगर, नेपाल शिवसेना र सनातनी मंचका सदस्य गौरव जयसवालद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जिल्लाको शान्ति सुरक्षा र सद्भावका विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै अपराधिक गतिविधि गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याउने बताए । उनले बाबा बर्फानीमाथि भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने र सुरक्षाको प्रबन्ध मिलाउने प्रतिबद्धता दिए ।