बुटवलमा चार दिने निषेधाज्ञा जारी, पाँच जना भन्दा बढि जम्मा हुन नपाइने


बुटवलमा चार दिने निषेधाज्ञा जारी, पाँच जना भन्दा बढि जम्मा हुन नपाइने

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा निषेधाज्ञा जारी गरेकोछ । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवलमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

रुपन्देहीका तीन दर्जन बढी संघ–संगठनको सञ्जालले आईतबार बिहान बुटवलमा विरोध ¥याली निकाल्ने निर्णय गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी कायम गर्न दबाब दिन आन्दोलनको घोषणा गरेपछि जिल्ला प्रशासनले पाँच जना भन्दा बढी जम्मा हुन नपाइने गरी निषेधाज्ञा लगाएको छ ।

रुपन्देहीलाई राजधानी कायम गर्न आन्दोलनरत नेपाली काँग्रेस र रुपन्देहीका संघ–संस्थाहरूले प्रदर्शन, रुपन्देही बन्द र प्रदेशसभा भवन घेराउ गर्नेसम्मका आन्दोलन घोषणा गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गर्दै असोज १८ गते आईतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ ।

प्रदेशसभा सचिवालय रहेको क्षेत्र दक्षिणमा ईटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै, मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म पाँच जनाभन्दा धेरै भेला हुन पाइने छैन । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला जम्मा हुन पाइने छैन ।

यतिबेला बुटवलमा व्यापक प्रहरी परिचालन गरिएको छ । आन्दोलनरत् समूहले शुक्रबार साँझदेखि नै प्रदेशसभा सदस्यहरूका घर तथा निवास अगाडि प्रदर्शन गर्न थालेपछि रुपन्देही बाहिरबाट समेत सुरक्षाकर्मी ल्याइएको छ ।