बारको चुनाव जित्न लोकतान्त्रिक प्यानल जिल्ला– जिल्लामा


बारको चुनाव जित्न लोकतान्त्रिक प्यानल जिल्ला– जिल्लामा

नेपालगन्ज :आसन्न नेपाल बार एशोसिएशनको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरु पूर्व पश्चिम देश दौडाहामा निस्केका छन् । चुनाव जित्न लोकतान्त्रिक प्यानलले पूर्वको झापाबाट प्रचार अभियान थालेको छ । नेपाल बार एशोसिएशन लोकतान्त्रिक प्यानलका ५ नम्बर प्रदेशका उपाध्यक्षका उम्मेद्वार सुनील कुमार श्रेष्ठका अनुसार, लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेद्वार सुनील कुमार पोखरेलको नेतृत्वमा टोली प्रचार अभियानका निस्किएको हो ।

टोलीले झापा, बिराटनागर, इनरुवा, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, जनकपुर पुगी मतदाताहरुसँग भेटघाट सम्पन्न गरेको छ । आगामी चैत १६ गते हुने नेपाल बार एशोसिएशनको निर्वाचनका लागि लोकतान्त्रिक प्यानल प्रत्येक जिल्लामा पुगी मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेको टोलीमा संलग्न उपाध्यक्षका उम्मेद्वार श्रेष्ठले सद्भावलाई जानकारी दिए ।

प्रत्येक जिल्लामा पुगी बारका सदस्यहरुसँगको भेटघाटमा अध्यक्षका उम्मेदवार पोखरेलले कानून व्यवसायीहरुको हकहितका लागि आफु कम्मर कसेर लागि पर्ने बताए । उनले जिल्लामा काम गरेका कानून ब्यवसायीलाई बरीष्ठ अधिवक्ताको उपाधी दिलाउन पहल गर्ने प्रतिवद्धता जनाए । लोकतान्त्रिक प्यानबाट निकै निखारिएका र चर्चित अनुहारहरु उम्मेद्वार रहेकाछन् ।

नेपाल बार एशोसिएशनको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदमा सुनील कुमार पोखरेल, महासचिवमा लिलामणी पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावल उम्मेद्वार रहेका छन् । महिला उपाध्यक्षमा कविता थापा कार्की, उपाध्यक्षमा प्रदेश १ बाट डिल्ली बहादुर कार्की, प्रदेश २ बाट सुधिरकुमार कर्ण, प्रदेश ३ बाट राजेश्वर अधिकारी, गण्डकी प्रदेशबाट निरन्जनलाल राजभण्डारी, प्रदेश ५ बाट सुनील कुमार श्रेष्ठ, कर्णाली प्रदेशबाट उत्तम आचार्य र प्रदेश ७ बाट ठेगेन्द्रराज जोशी उम्मेद्वार रहेका छन् ।

लोकतान्त्रिक प्यानलबाट सदस्यहरुमा रुपनारायण विक, शेषमन यादव, मनोज कुमार चौधरी, अमृत लामा, कैलाश विक्रम गुरुङ, शिवानी जोशी, सोनी रघुवंशी, गोविन्द प्रसाद सिग्देल, रमेश कुमार ढकाल, कृष्णभूषण घिमिरे, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी र टेक प्रसाद सुवेदीले उम्मेद्वार रहेका छन् । देशभर बारका १० हजार ५ सय मतदाता छन् । प्रगतिशीलबाट चण्डेश्वर श्रेष्ठको प्यानल चुनावी प्रतिस्पर्धामा छ ।