मानसरोवरको नाममा लाखौं उधारो


मानसरोवरको नाममा लाखौं उधारो

नेपालगन्ज : सन् २०१८ मा नेपालगन्ज हुँदै कैलाश मानसरोवर तीर्थ यात्रामा जाने यात्रु १० हजार पुगेको छ । यो संख्या नेपालगन्जका तारे होटलमा बास बसेका यात्रीको मात्र भएको व्यवसायी बताउँछन् ।

तारे होटलले एक रातको घटीमा दुई हजारदेखि बढीमा २० हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । मानसरोवरले तारे होटल मालामाल भएको आँकलन गर्न गरिएपनि त्यस्तो हुन नसकेको व्यवसायीले बताए । बाँकेका ठूला होटलमा ट्राभल्स एजेन्टका कारण लाखौंको उधारो अहिले पनि असुल हुन सकेको छैन् । एजेन्टले यात्रीबाट नगद लिएर आफूहरूलाई उधारो छाडेर जाने गरेको कारण अहिले रकम असुलीमा समस्या भईरहेको सेन्ट्रल प्लाजाका सञ्चालक देवानन्द अर्याल बताउँछन् ।

उनकाअनुसार मानसरोवर जाने यात्रीले तिर्नुपर्ने रकम अझै बाँकी छ । भारतीय एजेन्टले एक जना यात्रीबाट झन्डै तीन लाख र काठमाडौंस्थित एजेन्टले दुई लाख रुपैयाँ नगद लिएर मानसरोवर यात्राको जिम्मा लिएपनि उक्त रकम अहिलेसम्म नतिरेको उनी बताउँछन् । एजेन्टले ५० प्रतिशतसम्म उधारोमा होटल बुक गर्ने गरेका छन् । मानसरोवर जाने यात्री राख्ने होटलमा १० लाखभन्दा घटी उधारो कुनैमापनि नभएको उनी बताउँछन् । एउटै होटलले उनीहरूबाट ६० लाख रुपैयाँसम्म लिन बाँकी छ ।

उधारो असुल गर्न अहिले व्यवसायीलाई हम्मेहम्मे छ । त्यो रकम पाउन मानसरोवरको अर्को सिजन कुर्नुपर्ने उनको भनाई छ । अस्वस्थ प्रतिस्पर्धा गर्दा होटल व्यवसायी नै मारमा परेका छन् । पर्यटन विभागको वर्गीकरण बमोजिम बाँकेका होटललाई व्यवसायीले ए, बी र सी तीन वर्गमा विभाजन गरेर न्यूनतम दररेट निर्धारण गरेका छन् । जसलाई पालना गर्न बाध्यकारी बनाइएको छ । मानसरोवरका नाममा होटलमा उधारो थुप्रिएको छ ।

बाँकेमा फाइभ स्टार, फोर स्टार र थ्री स्टार गरी नौवटा होटल सञ्चालनमा रहेको होटल सोल्टीका प्रबन्धक इन्द्र खड्का बताउँछन् । उनकाअनुसार आधा दर्जनभन्दा बढी थ्री स्टार र फोर स्टारको तयारीमा छन् । तारे होटल अथवा स्तरीय होटलमा मात्र १२ अर्ब भन्दा बढी लगानी भइसकेको सिद्धार्थका निर्देशक केशव न्यौपाने बताउँछन् ।