नेपालगन्ज : नेपालमा कुनै समय गाँजाको बजार दक्षिण एसियाकै उत्कृष्ट मानिथ्यो । नेपालको अर्थतन्त्रमा विशेष महत्व राख्ने गाँजा समय क्रमसँगै अहिले प्रतिबन्ध छ । तर, यसलाई पुनः खुला गर्नुपर्ने आवाज आइरहेका छन् । यिनै आवाजले नेपालमा फेरि अर्को पटक गाँजा बहसले स्थान पाएको छ ।

गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने पहिलो आवाज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले यसअघि संसदमा उठाइसकेकाछन् । यदाकदा गाँजालाई खुला गर्नुपर्ने आवाज आइरहे पनि लामो समयदेखि यसले राजनीतिमा प्रवेश पाएको थिएन । तर, गत फाल्गुन ८ बुधबार बसेको प्रतिनिधिसभा बैठकमा खतिवडाले गाँजालाई खुला गर्नुपर्ने धारणा राखेपछि यसमाथि बहस सुरु भएकोहो ।
हाम्रा पूर्खाले गाँजालाई तरकारी र औषधिको रुपमा प्रयोग गर्थे । यही कारण हामीले प्रयोग गर्नुपर्छ भनेर मैले आवाज उठाइरहेको छैन, हामी महादेवका भक्त भएका कारण पनि यो आवाज उठाउन खोजेको होइन । प्रतिनिधिसभामा खतिवडाले भने, ‘अमेरिकाका १२ राज्य तथा क्यानडा, थाइल्यान्डलगायत राष्ट्रमा गाँजा खेतीले मान्यता पाएको छ, औषधि उत्पादनका लागि वैधानिक ढंगले गाँजा उत्पादन उनीहरूले आयआर्जन गरिरहेका छन्, त्यसको ठिक विपरित नेपालका केही जिल्लामा अवैध गाँजा उत्पादन भइरहेको छ ।
नेपालमा अवैध भनिएको गाँजालाई सिंहदरबार लगायतका वैधखानाले चर्को मूल्य तिरेर विदेशबाट आयात गर्नुपरेको खतिवडाको भनाइ छ । उनका अनुसार विदेशबाट गाँजा किन्नु भन्दा नेपालमै वैधानिक रुपमा उत्पादन गरेर रुऔषधिको रुपमा प्रयोग गर्नुपर्छ ।
यस्तो छ गाँजाको ईतिहास
केही वर्षअघिसम्म शिवरात्री मेला भर्न आउने जोगी र बाबाहरूलाई राज्यले नै गाँजा बाँड्ने चलन थियो । यो चलन २००७ साल अघिबाटै सुरु भएको हो । पशुपति विकास कोषका पूर्व सदस्य–सचिव गोविन्द टन्डनका अनुसार २००७ सालअघि वर्षको एकचोटि शिवरात्री बेला मात्र भारतीयहरूलाई काठमाडौं छिर्ने अनुमति दिइन्थ्यो । उनीहरू आठ दिनको अनुमति लिएर यहाँ आउँथे ।
मेला भर्न आउने जोगी, बाबा तथा अन्य भक्तजनलाई वीरगन्जमा धुमधाम स्वागत–सत्कार गरिन्थ्यो । बाटो–बाटोमा उनीहरूलाई आराम गर्न पन्डाल लगाइन्थ्यो । खाने, बस्ने लगायत यात्राको सम्पूर्ण प्रबन्ध राज्यले नै मिलाउँथ्यो । यसैमा गाँजा वितरण पनि पथ्र्यो । गाँजा वितरणको जिम्मा ‘श्री ५ गुठी बन्दोबस्त अड्डा’ र ‘श्री ३ गुठी बन्दोबस्त अड्डा’ नामका दुई संस्थालाई थियो । यी संस्थालाई राज्यले नै ‘शिवरात्री मेला भर्न आएका बाबालाई गाँजा बाँड्नू’ भनी जिम्मेवारी तोकेको थियो । यही व्यवस्थाअनुरुप प्रतिव्यक्ती २५ देखि ३० ग्राम गाँजा वितरण गरिने टन्डन बताउँछन् ।

‘उनीहरूलाई एकादशीदेखि शिवरात्री मेला नसकिएसम्म आठ दिनलाई पुग्ने गरी गाँजा दिइन्थ्यो,’ उनले भने । अझ सन् १९४७ मा भारत स्वतन्त्र हुनुअघि त्यहाँका विभिन्न राज्यबाट राजा–महाराजा र भाइभारदारसमेत शिवरात्री मेला भर्न आउँथे । राजकीय स्तरमा हुने भ्रमणको व्यवस्था मिलाउन नेपाल सरकारलाई पहिल्यै सूचना दिइएको हुन्थ्यो । सूचना पाउनेबितिकै सम्बन्धित राजा–महाराजाको स्वागत निम्ति तामझामसाथ तयारी गरिन्थ्यो । यस्तो बेला तत्कालीन राणा प्रधानमन्त्री नै स्वागत तयारीमा खटिएका हुन्थे ।
‘२००७ सालअघि शिवरात्री व्यवस्थापन श्री ३ महाराजकै पूर्ण निगरानीमा हुन्थ्यो । भारतबाट कुनै राजा–महाराजा आएका छन् भने यहाँ राजाबाट पनि दर्शनभेट दिने चलन थियो,’ टन्डनले भने, ‘त्यस्तो बेला राजा–महाराजा र उनका भाइभारदारको स्वागत निम्ति गाँजा टक्र्याउने गरिन्थ्यो ।’ भारत स्वतन्त्र भयो । राजा–महाराजा रहेनन् । यता नेपालमा पनि राणा शासन अन्त्य भयो । प्रजातन्त्र आयो । शिवरात्री बेला मात्र आउने भारतीयहरू वर्षैभरि काठमाडौं आउजाउ गर्न थाले । गाँजा वितरण चलन भने त्यसपछि पनि फेरिएन । टन्डनका अनुसार २०२१ सालमा तत्कालीन दुवै गुठी बन्दोबस्त अड्डा गाभेर गुठी संस्थान स्थापना गरियो। शिवरात्रीमा जोगी र बाबाहरूलाई गाँजा बाँड्ने जिम्मा त्यसपछि गुठी संस्थानले पायो ।
मेला भर्न आउनेले भगवान शिवका नाममा राज्यले नै बाँड्ने गाँजाको सर्को तान्ने क्रम चलिरह्यो । नेपालमा परापूर्वकालदेखि गाँजा सेवन स्वीकार्य थियो । तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बाली रूपमा गाँजा खेती हुन्थ्यो । यहाँको माटोमा प्राकृतिक रूपले फल्ने गाँजा उम्दा गुणस्तरको मानिन्छ । यसबीच सन् १९७० दशकको सुरुआतबाट विश्वभरि ‘हिप्पी’ युग सुरु भयो । अमेरिकी तथा युरोपेलीहरू ध्यान र मोक्षको खोजीमा संसारभरि भौंतारिन थाले । नेपाल र भारत हिप्पी युगको ‘राजधानी’ बन्यो । खासगरी काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थाल्यो । त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए । विदेशीहरू ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे । कानूनी रूपले नै गाँजा बिक्री हुने त्यो समय शिवरात्रीमा बन्देज हुने त कुरै भएन ।
यो समय धेरै टिकेन ।
अमेरिकाले गाँजा प्रतिबन्ध गर्न सरकारमाथि दबाब दियो । हिप्पी कालमा काठमाडौं छिरेका आफ्ना नागरिक, खासगरी युवा पुस्ता गाँजा मोहमा यतै भुल्न थालेपछि अमेरिकी सरकार चिन्तित थियो ।
अमेरिका लगायत राष्ट्रसंघीय दबाबमा सरकारले केही कडिकडाउ गर्न थाल्यो । गाँजा खुला बिक्री गर्न रोक लगाइयो, तर सेवन गर्नेलाई पक्राउ गरिएन । अहिलेजस्तो गाउँ–गाउँमा किसानले मिहिनेत गरी लगाएको गाँजा खेती प्रहरी परिचालन गरेर फाँड्ने चलन पनि थिएन । अमेरिकी लगायत पश्चिमी मुलुकलाई नेपालको यो व्यवहार सह्य भएन । त्यसबेला राष्ट्रसंघको ‘नार्काेटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तो कडा लागुऔषधको दर्जामा राखेको थियो । आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपाल सरकारको आलोचना गर्यो। गरिब देश नेपालले अन्तर्राष्ट्रिय दबाब थेग्न सकेन । एसिया र अन्य पश्चिमी मुलुकमा प्रतिबन्ध नहुँदै गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीमा राख्न नेपाल बाध्य भयो ।

अमेरिका र राष्ट्रसंघको निरन्तर दबाबपछि सरकारले लागुऔषध नियन्त्रण ऐन २०३३ मार्फत गाँजा उत्पादन र किनबेच पूरै निषेध ग¥र्यो । गाँजा सेवन, खेती, उत्पादन, खरिदबिक्री, निकासी, पैठारी वा भण्डारण गर्न ऐनले वर्जित गरेको छ । यही ऐनमा टेकेर गाँजा बेच्ने, सेवन गर्ने र खेती गर्ने किसानमाथि पनि प्रहरी धरपकड सुरु भयो । जुन अहिलेसम्म जारी छ । कानूनमा यति चर्को बन्देज हुँदाहुँदै शिवरात्री मेला भर्न आउनेलाई गाँजा बाँड्ने र सेवन गर्न छुट दिने चलन भने रोकिएन । अरू बेला लुकिछिपी गाँजा खानेहरू शिवरात्रीको प्रतीक्षा गर्न थाले ।
राज्यको कसिकसाउ भने झन्–झन् बढ्दै गयो ।
२०४३ सालमा पशुपति क्षेत्र विकास कोष स्थापनापछि उसैले पशुपतिमा हुने गाँजा सेवन रोक्न ‘लबिङ’ थाल्यो । गुठी संस्थानमार्फत हुँदै आएको गाँजा वितरणमा २०५३/५४ सालबाट रोक लगाइयो । पूर्ण प्रतिबन्ध भने गरिएन । जोगी र बाबाहरूलाई व्यक्तीगत रूपमै भए पनि गाँजा वितरण गर्ने छुट जारी रह्यो । ऐतिहासिक परम्पराकै कारण एकैचोटि प्रतिबन्धमा जान सरकार हच्केको हुनसक्ने जानकार बताउँछन् । त्यसको चार–पाँच वर्षपछि भने पशुपति विकास कोषले व्यक्तीगत रूपमा पनि गाँजा बाँड्न रोक लगायो ।
‘शिवरात्री मनाउन भारतबाट आउने भेषधारी जोगीहरूले आफूसँगै ल्याएर खाए केही छैन, तर राज्य वा व्यक्तीगत रूपमा गाँजा वितरण गर्न पाइन्न भनेर रोक लगाइएको थियो,’ टन्डनले भने । गाँजामाथि यो बन्देज यस वर्ष अझ कडा पारिएको छ । कोषले पशुपतिलाई ‘गाँजा निषेधित क्षेत्र’ घोषणा गरेको छ । पशुपति परिसरका साथै मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर, राजराजेश्वरी नहर लगायत क्षेत्रमा गाँजा सेवन नियन्त्रण गर्न सुरक्षा गस्ती बढाइएको कोषका सदस्य–सचिव ढकालले बताए ।

हुन त शिवरात्री मनाउन आएका जोगीले अहिले पनि गाँजा तानिरहेकै देखिन्छन् । उनीहरूसँगै युवाहरू पनि मृगस्थली जंगलमा गाँजाको सर्को तान्दै गरेका भेटिन्छन् । कानूनी रूपमा भने वर्षको एकचोटि गाँजा बाँड्ने र सेवन गर्न दिने चलन यस वर्षबाट पूरै नियन्त्रित भएको छ । पछिल्लो समय गाँजाको औषधीय गुण वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ । नेपाललाई गाँजामा प्रतिबन्ध लगाउन दबाब दिने अमेरिकाकै कतिपय राज्यमा वैधानिक प्रयोग खुला भइसकेको छ । भारतमा योगगुरू रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले गाँजाबाट विभिन्न आयुर्वेदिक औषधि उत्पादन गर्न अनुसन्धान सुरु गर्ने घोषणा गरिसकेको छ । परम्परागत रूपले नै गाँजाको आयुर्वेदिक प्रयोग गर्दै आएको नेपालमा पनि नीतिगत प्रतिबन्ध फुकुवा गर्नुपर्ने बहस छ । यस्तो बेला शिवरात्रीको दिन गाँजामाथि कडिकडाउ किन ?
‘भ्रम हटाउन,’ टन्डनले भने, ‘जसरी श्रीपञ्चमीलाई अक्षर आरम्भ गर्ने दिनका रूपमा मनाइन्छ, त्यसैगरी शिवरात्रीलाई गाँजा सेवन आरम्भ गर्ने दिनका रूपमा बुझ्न थालियो । भगवान शिवजी त गाँजा खाएर बस्नुहुन्थ्यो भने हामीले किन खान नहुने भन्ने भ्रम फैलियो । यो गलत
हो ।’ ‘शिवजीले त समुद्र मन्थनबाट निस्केको ‘कालकूट’ विष पनि सेवन गर्नुभएको थियो, त्यही भनेर अब विष पनि सेवन गर्न थाल्ने त ?’ उनले भने । गाँजालाई ‘शिवको प्रसाद’ भन्दै महाशिवरात्रीकै गलत व्याख्या गर्ने प्रवृती अन्त्य गर्न प्रतिबन्ध लगाइएको टन्डनले बताए । कोषका सदस्य–सचिव ढकालको यस्तै धारणा छ ।
उनी पशुपतिनाथ क्षेत्र ध्यान, योग र साधनास्थल भएकाले आध्यात्मिक केन्द्रका रूपमा विकास गरिने बताउँछन् । दुव्र्यसनमा लागेकालाई उद्धार गर्नुपर्ने यस्तो पावन भूमिमा शिवरात्रीका नाममा गाँजा बिक्री–वितरण र सेवन गलत भएको उनको भनाइ छ । यसै सन्दर्भमा हामीले टन्डनलाई सोध्यौं, ‘अन्तर्राष्ट्रिय स्तरमै गाँजाको वैधानिक प्रयोग खुला भइरहेका बेला नेपालमा अझै प्रतिबन्ध किन ?’ उनले गाँजाको औषधीय गुण स्वीकारे । यसलाई परम्परागत रूपले नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिँदै आएकोमा उनको सहमति छ । यति हुँदाहुँदै राज्यको निगरानीबिना जथाभाबी खुला गर्दा बेथिति र लागुऔषध दुव्र्यसन बढ्नसक्ने उनले बताए ।

‘गाँजा आयुर्वेदिक ओखती हो, तर मात्रा मिलाएर खानुपर्छ । मात्तेर हिँड्ने गरी सेवन ग¥र्यो भने रक्सी र गाँजामा कुनै अन्तर हुने छैन,’ टन्डनले भने । उनले गाँजाका केही उपयोगिताबारे चर्चा गरे । ‘गाँजाको रेसाबाट वातावरणमैत्री कपडा बन्छ । यस्तो लुगा अन्तर्राष्ट्रिय बजारमा प्रसिद्ध छ र महँगो दाममा बिक्छ,’ उनले भने, ‘हामीले अनुसन्धान गरेर गाँजाको रेसाबाट कपडा बनाउने उद्योग प्रोत्साहित गर्न सक्छौं ।’ उनका अनुसार कतिपय देशमा गाँजाको बोटबाट कम्पोस्ट मल बनाइन्छ । बिरामी लठ्याउन वा पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ औषधि नहुँदा शल्यक्रीया गर्नुअघि बिरामीलाई गाँजा खुवाउने चलन थियो ।
‘हाम्रोजस्तो जलवायु भएको देशमा गाँजा रोप्दै नरोपी फल्छ । कतिपय किसानले नगदे बालीका रूपमा पनि गाँजा खेती गर्थे । त्यसो भन्दैमा अवगुण हुँदै नभएको होइन । जथाभाबी सेवन गरे गाँजाले पनि हानि गर्छ । औषधीय गुण व्याख्या गर्दा युवा पुस्तालाई यसबाट हुने हानि बुझाउनुपर्छ,’ उनले भने, ‘नत्र युवा पुस्तामा गाँजा सेवन बढ्ने र यही बाटो हुँदै अरू लागुऔषधको दुव्र्यसनमा लाग्ने खतरा हुन्छ ।’
आयुर्वेद अनुसन्धानकर्ता पनि गाँजाका फाइदा र बेफाइदा दुवै भएको बताउँछन् ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइरालाका अनुसार झाडापखाला, श्वासप्रश्वास समस्या, अनिद्रा, शारीरिक पीडा, मानसिक तनाव लगायतमा गाँजाको औषधि ‘अचुक’ मानिन्छ। शरीर सुन्निने र क्यान्सरको दुखाइ कम गर्न यसले राम्रो काम गर्छ ।
हालै सार्वजनिक एक वैज्ञानिक रिपोर्टले दुखाई कम गर्ने अन्य औषधिका तुलनामा गाँजालाई ‘गुणस्तरीय’ देखाएको छ । अमेरिकी राज्यहरूमा करिब ११ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा गाँजा सेवन र पीडा कम गर्ने अन्य औषधि सेवनको प्रभाव तुलना गरिएको थियो । दुखाई कम गर्ने अन्य औषधि अत्यधिक सेवन गर्दा बिरामीको मृत्यु सम्भावना ४० प्रतिशत बढी पाइयो । गाँजा प्रयोग गर्न थालेपछि मृत्युदर २५ प्रतिशतमा झरेको अध्ययनको निष्कर्ष छ । अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको शोधमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी पाइएको छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

गाँजाका सेवनका बेफाइदा पनि छन् ।
गाँजा सोझै सेवन गर्दा हृदयगति बढ्ने, धुवाँले श्वासप्रश्वासमा असर गर्ने र शारीरिक गतिविधिमा प्रभाव पार्ने देखिएको छ । कसैकसैमा हृदयाघात पनि गराएको छ ।
‘युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजी’ को अध्ययनअनुसार सिधै गाँजा खानेलाई उच्च रक्तचापको जोखिम हुन्छ । गर्भावस्थामा खाँदा जन्मने बच्चाको तौल कम हुने देखिएको छ । थुप्रै शोधको निष्कर्षअनुसार गाँजाले त्यतिबेला मात्र सकारात्मक प्रभाव पार्छ, जब यसको प्रयोग नियन्त्रित र सही परिमाणमा हुन्छ ।
‘पृथ्वीमा रहेका सम्पूर्ण चिज अमृत पनि हुनसक्छ, विष पनि,’ त्रीभुवन विश्वविद्यालय, आयुर्वेद क्याम्पस प्रमुख डिबी रोका भन्छन्, ‘कुनै पनि तत्वलाई मात्रा, उद्देश्य र प्रयोग मिलाएर खायो भने औषधि हुन्छ भन्ने आयुर्वेदको मान्यता हो । गाँजा त्यस्तै हो ।’ फाइदा–बेफाइदाकै कारण गाँजा उत्पादन र प्रयोगमा राज्यको निगरानी हुनुपर्ने टन्डन बताउँछन । ‘सरकारले यसको आयुर्वेदिक गुण केलाउन विधिवत अनुसन्धान गर्नुपर्छ र व्यवस्थित ढंगले मात्र प्रयोग गर्न दिनुपर्छ,’ उनले भने, ‘मनमौजी सेवन गर्न छुट दिए भयावह रूप लिनसक्छ ।’ पशुपति विकास कोषको यसपालिको निर्णय हेर्दा टन्डनले भनेजस्तै वैधानिक प्रयोग खुला नभएसम्म अब शिवरात्रीमा पनि गाँजाको सर्काे सामान्य हुने छैन । चाहे त्यो पशुपति क्षेत्र नै किन नहोस् !
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा