बढ्दै अख्तियारको सक्रियताः

नगदसहित दुई पक्राउ, तीन कार्यालयमा छापा


बढ्दै अख्तियारको सक्रियताः

नेपालगन्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जले आर्थिक अनियमितता रोकथाममा मंगलबारदेखि सक्रियता बढाएको छ । मंगलबारको सद्भाव दैनिकमा ‘घुसखोरी अड्डामा अख्तियारका जासुस’ शिर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार नेपालगन्जले आफ्नो सक्रियता बढाएको हो ।

केही महिनादेखि मौन बसेको अख्तियारले मंगलबार एकै पटक बाँकेका तीनवटा सरकारी कार्यालयमा छापा मारेको छ । बिशेष सुराकीका आधारमा अख्तिायरबाट गएको टोलीले नेपालगन्ज भन्सार, आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय बाँके र यातायात कार्यालयमा छापा मारेको अख्तिायर दुरूपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयका प्रमुख गणेश गैरले जानकारी दिए ।

उनकाअनुसार नेपालगन्ज भन्सार कार्यालयबाट नायक सुब्बा लक्षमण चन्द नगद ५२ हजार घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीको काम छिटो गरिदिने भन्दै ती कर्मचारीले घुस लिएको अवस्थामा अख्तियारको टोलीले कार्यालयमै पक्राउ गरेको हो । यसैगरी अख्तिायरको टोलीले नगद ३५ हजारसहित आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय बाँकेका विनोदकुमार श्रीवास्तवलाई पनि पक्राउ गरेको अख्तियार प्रमुख गैरेले बताए ।

दुबै जनालाई मंगलबार साँझदेखि अख्तियारको नियन्त्रणमा राखिएको छ । अख्तियारले यातायात कार्यालय भेरीमापनि मंगलबार साँझ नै छापा मारेको छ ।यस क्रममा त्यहाँबाट केही कागतजात नियन्त्रणमा लिएको प्रमुख गैरले बताए । पक्राउ परेका भन्सार, आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयबाट पक्राउ परेका दुबे जना कर्मचारी अख्तियारको नियन्त्रणमा छन् ।

केही समयदेखि मौन बसेको अख्तियार मंगलबार सक्रियता बढेसँगै बाँकेका घुसखोरी कार्यालय र स्थानीय तहका जनप्रतिनिधीको निदहराम भएको छ । बाँकेका सरकारी कार्यालयमा मात्रै नभई स्थानीय तहमा यतिबेला भ्रष्टाचारको जालो फैलिएको छ । अख्तियारले स्थानीय तहमा पनि छानबीन र अनुसन्धानको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको प्रमुख गैरले जानकारी दिए । यहाँका आठवटै स्थानीय तह, जिल्ला समन्वय समितिदेखि नेपालगन्ज उद्योग बाणिज्य संघ लगायतका निकायमा व्यापक आथिृक चलखेल भईरहेको चौतर्फी गुनासाहरू आईरहेका छन् ।

बाँकेको खजुरा गाउँपालिकाकै एउटा वडामा मात्रै २३ वटा आर्थिक अनियमितताका उजुरी अख्तियारमा परेका छन् । जिलमा रहेका आठवटै स्थानीय तह भ्रष्टाचारबाट अछुतो देखिदैनन् ।