सूचना दिदैनन् मुद्दाका ईनिस्पेक्टर

प्रहरी नै अपारदर्शीः कहाँ छ लागुऔषध


सूचना दिदैनन् मुद्दाका ईनिस्पेक्टर

नेपालगन्ज : प्रहरीले कुनैपनि लागुऔषध बरामद गरिसकेपछि हतार÷हतार पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने गरेको छ ।
तर, त्यही लागुऔषध नष्ट गर्दा प्रमाण भेटिदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ ।

बाँके प्रहरीले पटक÷पटक लागूऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन् ।
बाँके प्रहरीले अहिलेसम्म कति आगुऔषध बरामद ग¥यो त्यसको रेकर्ड प्रहरीसँगै छैन् । सूचना माग्दा सबै नष्ट गरेको मुद्दा शाखाका प्रहरी निरीक्षक दीपक मल्ल बताउँछन् ।

तर, कति परिमाण भनेर सोध्दा उनीसँग यसको कुनै जवाफ छैन् । उनी केबल रेडिमेट जवाफ दिन्छन ‘सबै नष्ट भयो ।’ उनी नष्ट भएको विवरण सहितको सूचना नै दिन मान्दैनन् । बाँके प्रहरी प्रमुख एसपी अरूण पौडेलले बाँके प्रहरी सूचनामैत्री भएको दाबी गर्दै आईरहेका बेला मुद्दा शाखाका प्रहरी निरीक्षक मल्लले नै सूचना लुकाउन खोज्दा एसपी पौडेलको दाबीलाई गिज्याएको छ ।

कानूनअनुसार कुनैपनि लागुऔषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पु¥याएर नष्ट गर्नुपर्छ । तर, वार्षिक रूपमा ठूलो परिणाममा लागुऔषध बरामद भएपनि बाँके प्रहरीले अहिलेसम्म नष्ट गर्ने काममा पारदर्शिता देखिएको छैन । तर, मुद्दा शाखाका प्रहरी निरीक्षक मल्ल
दादागिरीशैलीमा भन्छन् –सार्वजनिक बरामद सबै लागुऔषध नष्ट गरिएको छ । उनी भन्छन्– ‘अहिले तथ्याकं छैन र दिन पनि मिल्दैन् ।’
उक्त बरामद लागु औषध नष्ट गर्दा अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सञ्चारकर्मी, नागरिक समाज र प्रहरी सबै रोहबरमा हुनुपर्ने कानूनी प्रावधान छ ।

तर, बाँके प्रहरी अहिलेसम्म लागुऔषध नष्ट गर्दा यी कुनैपनि निकायलाई रोहबरमा राखेर नष्ट गरेको खबर सार्वजनिक भएका छैनन् ।
एक तथ्याकंअनुसार आर्थिक वर्ष २०७२/०७३ मा पाँच सय ८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो दुई सय ग्राम चरेश, नाइट्रोजेपाम ९ सय ३५ ट्याब्लेट, अफिम ५ किलो र गाँजा १५ ग्राम बरामद गरेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा पाँच सय ३७ ग्राम तीन सय १२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाजा, दश किलो ५३ ग्राम अफिम, ५ लिटर दुई सय मिलिटिर कोरेक्स, नाइट्रोजेपाम ९ सय ७५ ट्याब्लेट बरामद भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा तीन सय ७५ ग्राम दुई सय ६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो दुई सय ५० ग्राम चरेश, सात किलो तीन सय ग्राम अफिम, सय ग्राम गाँजा, दुई हजार ६ सय ५० मिलिलिटर कोरेक्स, तीन हजार नौ सय २६ वटा नाइट्रोजेपाम÷ नाइट्रोभेट, स्पाम ६९ ट्याब्लेट बरामद भएको थियो ।

तर, यी सबै लागुऔषध नष्ट गरिएको दाबी गरेपनि प्रहरी निरीक्षक मल्लले तथ्याकं दिन नसक्ने बताएका छन् । लागूऔषधको जिम्मेवारी प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको हुने र प्रहरीले कानूनी प्रक्रिया टुंग्याएपछि नष्ट गर्ने बेलामा मात्र प्रशासन कार्यालयका प्रतिनिधि बोलाउँने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल बताउँछन् ।

उनकाअनुसार प्रशासनलाई नष्ट गर्दा मात्रै,त्यो पनि कहिलेकाँही बोलाईने हुँदा बरामद गरिएको लागुऔषध दुरूपयोग हुने/नहुने कुरा प्रशासनलाई थाहा हुँदैन ।’ उनले भने ‘त्यो प्रहरीलाई नै सोध्नुपर्छ ।’नष्ट गरेको प्रमाण किन सार्वजनिक हुँदैन त ? भन्ने प्रश्नमा बाँकेका एसपी अरूण पौडेल बरामद गर्दा प्रहरी मात्रैले बरामद् गर्ने हुँदा बरामदको प्रमाण सार्वजनिक हुन्छ । तर, नष्ट गर्न थुप्रै निकायहरु संलग्न हुने भएकाले सार्वजनिक गर्न असहज हुने बताउँछन् ।

कानूनतःलागुऔषध बरामद गरिसकेपछि प्रमाणका रूपमा अदालतमा विवरण पेश गर्नुपर्छ । अनि, घटनाको सम्पूर्ण अनुसन्धान नसकुन्जेल त्यसलाई नष्ट गर्न पाइंदैन । जब अनुसन्धान सकिन्छ त्यसपछि अदालतको फैसला अनुसार, प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको रोहबरमा लागुऔषध नष्ट गरिनुपर्ने प्रावधान छ । तर, बाँकेमा यस्तो प्रक्रिया अहिलेसम्म पुरा गरिएको देखिदैन् ।