मेशिन वेवारिसे, अस्पताल उदासीन


मेशिन वेवारिसे, अस्पताल उदासीन

नेपालगन्ज : भेरी अस्पतालमा रहेका दुईवटा मेशिन दशकदेखि वेवारिसे अवस्थामा छन् । ती मेशिन प्रयोगमा आउन नसक्दा लाखौको सरकारी लगानी वालुवामा पानी झै भएको छ । तर, अस्पताल उदासीन छ ।

सेवाग्राहीको स्वास्थ्य परीक्षणका लागि भन्दै ती मेशिन ल्याईएका थिए । तर, मेशिन लयाएदेखि अहिलेसम्म एक जना विरामीले पनि ती मेशिनबाट आफनो स्वास्थ्य रिर्पोट तयार गर्न पाएका छैनन् ।

अस्पतालमा रहेका सिकलसेल एनिमिया जाँच गर्ने इलेक्टूोफोरसिस मेसिन दशकदेखि प्रयोगविहीन भएका हुन् । यसले सयौं सेवाग्राही मर्कामा परेका छन् । दशकदेखि बिग्रेर थन्किएका ती मेशिन मर्मत गर्ने तर्फ अस्पताल व्यवसाथापन समितिले अहिलेसम्म कुनै चासो देखाएको छैन् ।

तत्कालिन अञ्चल अस्पताललाई स्वास्थ्य विभागले एउटा मेशिन दशक अघि दिएको थियो । उक्त मेशिन प्रयोगमा नआउँदै बिग्रिएको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारी बताउँछन् । अस्पतालमा रहेको अर्को मेशिन बिग्रिएको छ । उक्त मेशिन जनस्वास्थ्य कार्यालयले अस्पताललाई प्रदान गरेको हो ।

दुई वटै मेशिन इलेक्टूोफोरसिस मेसिन हुन् । लाखौं मूलयका यी मेशिन मर्मत गर्ने र सेवाग्राहीलाई सहज तथा निः शुल्क रूपमा उपचार गर्नेतर्फ अस्पताल उदासीन भईरहेको छ । अस्पतालमा भएका मेशिन बिग्रेर प्रयोगमा नआएपछि उपचारका लागि अस्पतालमा आउने सिकलसेलका सयौंं विरामीले महँगो रकम तिरेर नीजि क्लिनिकमा स्वास्थ्य परीक्षण गराउँन बाध्य हुनुपरेको छ ।

अस्पतालमा निःशुल्क पाइने सेवा निजी क्लिनिकमा दुई हजार रुपैयाँ तिरेर जाँच गर्नु परेको सिकलसेल एमिनियाका विरामी बताउँछन् । अस्पतालमा हप्तामा ७० जना सिकलसेल जाँचका लागि नागरिकहरू आउने गरेको प्याथालोजी विभाग प्रमुख बालकृष्ण अवाल बताउँछन् । तर, मेसिन नहुँदा विरामीहरू निजी क्लिनिकमा जाने गरेको उनले बताए।