नेपालगन्ज : राप्तीसोनारीमा केहि ब्यक्तिहरुले अवैध रुपमा राप्ती नदी दोहन गरिरहेका छन् । प्रहरी, प्रसाशन, वन कर्मचारीको मिलेमतोमा नदी दोहन भईरहेको खुलासा भएको छ ।
यस बिषयमा गाउँपालिका पनि मौन छ । राप्तीसोनारी वडा नम्बर३– नवलपुर, बैसा, गोबारपुर र गल्राबाज क्षेत्रवरिपरिको राप्ती नदीबाट दैनिक सयौं घनमिटर ढुगां उत्खनन् भइरहेको छ । राज्यले नै त्यस क्षेत्र वरिपरि उत्खनन् गरेमा बस्ती, खेतीयोग्य जमिनमा हानी नोक्सानी पुग्ने भन्दै अहिलेसम्म टेण्डर गरेको छैन् ।
तर, राजनीतिक र सरकारी निकायकै आडमा केही व्यक्तिहरुले दैनिक करोडौको ढुंगा बेचिरहेको स्थानीय बताउँछन् । स्थानीय भुवरभवानी सामुदायिक वन, क्षेत्र वरिपरि दैनिक रुपमा अवैध ढुंगा उत्खनन् गरेर बेचिरहेको स्थानीयले गुनासो गरेका छन् । राज्यलाई राजस्व तिर्न त परै जाओस् कुनै पनि कागजी प्रक्रिया पुरा नगरिकन उनीहरुले खुलेयायाम राप्ती नदी दोहन गरिरहेको खुलेको छ । स्थानीय अगुवा भनिएका बुद्धि थारु, सन्तोष थारु र दुर्गा बहादुर थारु (सन्तोष)ले सरकारी मिलेमतोमै ढुंगा ट्प्पिरमा लगेर विभिन्न स्थानमा बेच्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीयलाई घर बनाउनका लागि ढुंगा गिट्टी बालुवा ल्याउँदा वन कर्मचारी र प्रहरीले नियन्त्रणमा लिन्छन् ठुलाबडाले खुलेयाम रातदिन नदी दोहन गर्दा पनि कसैलाई चासो नभएको स्थानीय विश्वसागर पारियार बताउँछन् । ठेकेदारहरुको बचाउ गर्दै कागजपत्र नभएपनि पछि प्रक्रियामा जाने कुरा भएको सिक्टाका सव डिभिजन वन कार्यालयका प्रमुख मनोज शहले बताए ।
उनले यस बिषयमा आफुहरुको कुनै खालको आर्थिक, भौतिक, नैतिक आग्रह पुर्वाग्रह नरहेको दावी समेत गरेका छन् । जिल्ला वन कार्यालय बाँकेका प्रमुख मोहनराज श्रेष्ठले यस बिषयमा बुझेर अबैध दोहन भएको खण्डमा तत्काल अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।