सुशासनका लागि युवा चासो वृद्धि गर्न 'मेरो पालिकाः मेरो चासो अभियान'


सुशासनका लागि युवा चासो वृद्धि गर्न 'मेरो पालिकाः मेरो चासो अभियान'

महेन्द्रनगर : स्थानीय तहको बजेट तथा यसको खर्च प्रक्रियाका बारेमा युवाहरुको चासो वृद्धि गर्न कञ्चनपुरमा विविध कार्यक्रमहरु गरिएकोछ । स्थानीय तहका सरकारले बजेट बनाउने र त्यसलाई खर्च गर्ने प्रक्रियाका बारेमा जानकारी तथा जनचासो वृद्धि गरी भ्रष्टाचार तथा अनियमितता हुन नदिनका लागि अभियानको सञ्चालन गरिएको हो ।

पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत सञ्चार पैरवी गर्ने संस्था इक्वेल एक्सेसले बिहिबार र शुक्रबार महेन्द्रनगरमा जारी महोत्सव, क्याम्पस तथा कृष्णपुर नगरपालिकामा रहेको साझा सभा र रेडियो श्रोता क्लबमा ‘मेरो पालिकाः मेरो चासो’ अभियान सञ्चालन गरेको हो ।
अभियान अन्र्तगत बिहिबार महेन्द्रनगरमा जारी कञ्चनपुर पर्यटन महोत्सवमा ‘मेरो पालिकाः मेरो चासो’ अभियान अन्र्तगत स्टलबाट चार सय भन्दा बढिले जानकारी प्राप्त गरेका छन् ।

महोत्सवमा आए ब्यक्तिहरुलाई बिहिबार र शुक्रबार महोत्सवमा पर्चा, पम्पलेट तथा सचेतनामुलक अडियो सामाग्रीको माध्यमबाट जानकारी दिइएको इक्वेल एक्सेसका आउटरिच एशोशिसयट भीमबहादुर सार्कीले जानकारी दिए । बिहीबारनै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाँझ पनि अभियानको बारेमा अभिमुखिकरण गरिएको इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले सद्भावलाई जानकारी दिए । उनका अनुसार फोन, एसएमएस तथा सामाजिक सञ्जालको प्रयोग गरि सो अभियानमा सहभागी हुन सकिनेछ । अभियानको अभिमुखिकरणमा विश्वविद्यालयमा अध्ययनरत ३४ जना तथा अन्य एक दर्जनले प्रत्यक्षरुपमा सहभागीता जनाएका थिए ।

सञ्जिवनी नेपालसँगको सहकार्यमा आयोजना गरिएको सो अभियान अन्र्तगत बिहीबारनै कृष्णपुर नगरपालिका वडा नम्बर –१, मा रहेको साझा सभामा र शुक्रबार रेडियो श्रोता समुहमा ‘मेरो पालिकाः मेरो चासो’ अभियानका बारेमा अभिमुखिकरण गरिएको थियो । जसमा ६० जनाले अभियानको बारेमा जानकारी प्राप्त गरेका थिए ।

अभिमुखिकरणमा कृष्णपुर नगरपालिका वडा नम्बर–१, का युवाहरुले आफ्नो वडामा भएको विकास निर्माणको कामको बजेटको पारदर्शीतामा चासो देखाएका थिए । स्थानीय सरकारले स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा बजेट बनाई कार्यान्वयन भइरहेको भएता पनि यसका बारेमा स्थानीयमा जानकारीको कमी रहेको बताएका थिए ।

शुक्रबार आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै स्थानीय संघर्ष रेडियो स्रोता समुहका सदस्य गयाप्रसाद चौधरीले स्थानीय तहमा सञ्चालन भएका विकास निर्माणका योजनाहरुको योजना सूचना पाटी नराखिएकोले सूचना पाउन असहज भएको बताए । योजनाहरु कार्यान्वयनपछि सार्वजनिक परीक्षण गरिनुपर्ने भएता पनि त्यसबारे स्थानीय युवाहरुले कमै मात्रामा जानकारी पाउने गरेको चौधरीले बताए ।
कृष्णपुर–१ मा गठन भएको स्थानीय सभाका संयोजक ढुण्डीराज भण्डारीले पनि योजना कार्यान्वय गर्दा योजना सूचना पाटी तथा सार्वजनिक सुनुवाईका साथै सार्वजनिक परीक्षण प्रभावकारी नभएको बताए ।

नेपालका ३४ वटा जिल्लामा सञ्चालित ‘मेरो पालिकाः मेरो चासो’ अभियानमा युवाहरुलाई स्थानीय पालिकामा हुने बजेट निर्माण, कार्यान्वयन र पारदर्शीतामा सहभागीता बढाई सुशासन अभिवृद्धि गर्न मद्दत गर्ने इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले बताए ।