अलपत्र पूर्वाधार, उदासीन नगर

वडाअध्यक्ष रमिते, भाडामा अफिस


अलपत्र पूर्वाधार, उदासीन नगर

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, मा अलपत्र अवस्थामा रहेको सरकारी भवन । उक्त भवन उपमहानगरपालिकाको उदाशिनताका कारण पाँच वर्षदेखि वेवारिसे छ । तस्बिर: कमल न्यौपाने/सद्भाव

नेपालगन्ज : विकासे कामको उद्घाटन र शिल्यानाश गर्ने तर, त्यसपछि भने वेवास्ता गर्ने प्रवृत्ति समाज र पुर्वाधार विकासको बाधक बनेको छ । जसले गर्दा थालिएका विकासका काम अलपत्र मात्रै छैनन् काम गर्ने जिम्मेवारी कसको हो, भन्नेमा समेत अलमल देखिएको थालेको छ ।

त्यसको एक उदाहरण नोपलगन्ज उपमहानगरपालिकाको वडा नम्बर एकमा निर्माण अलपत्र रहेको सरकारी भवनलाई लिन सकिन्छ । तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त करिब एक करोड बजेटमा निर्माण थालिएको उक्त भवन अहिलेपनि वेवारिसे अवस्थामा छ । पुर्वाधार निर्माणका लागि जमिनमा पिलर उठाईएको पाँच बर्ष वितिसक्यो, केही रकम खर्च समेत भईसक्यो तर, भवन निर्माणको काम त्यो भन्दा अघि बढ्न सकेन जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले भने ‘पाँच बर्षदेखि यो योजना पिलरमै सिमित छ ।’

जनस्वास्थ्य कार्यालयले सहरी स्वास्थ्य क्लिनिकको भवन निर्माणका लागि भन्दै नेपालगन्ज उपमहानगरपालिका तत्कालिन नगरपालिकालाई उक्त रकम प्रदान गरेको हो । जनस्वास्थ्यको रकम पाएपछि भवन निर्माणका लािग नगरपालिकाले टेण्डरआव्हान गरि एक ठेकेदारलाई निर्माणको जिम्मा दिएको थियो । तर, नगरपालिकाकै उदासनिताले गर्दा अहिले ती ठेकेदारको समेत अत्तोपत्तो छैन ।

यतिसम्मकी उपमहानगरपालिकाले पनि उक्त वेवारिसे भवनको निर्माण पुरा गर्नेतर्फ चासो नदेखाएको अधिकृत चन्द बताउँछन् ।
उनले भने ‘जे कामका लागि बजेट दिएको हो त्यो बजेट त्यहि काममा लगाउँनुपर्छ । वडा नम्बर एकमा रहेको उक्त सहरी स्वास्थ्य केन्द्रको भवन अभावकै कारण लामो समयदेखि केन्द्र भाडाको घरमा बस्दै आएको छ ।’

स्वास्थ्यको बजेटमा उपमहानगर खेलिरहेको छ । भवन अलपत्र छ । सेवा भाडाको घरबाट प्रवाह गर्नुपरेको छ । उपमहानगरपालिका मात्रै होईन वडा नम्बर एकका वडाअध्यक्ष समेत आफनै वडामा यसरी वेवारिसे रहेको पुर्वाधारका बिषयमा अनबिज्ञ छन् । उक्त भवन निर्माणका लागि ठेकेदारको खोजी र उपमहानगरपालिकासँग पहल लगायतका बिषयमा वडाअध्यक्षको समेत कुनैपनि भूमिका नदेखिएको स्थानीय बताउँछन् । स्मरणहोस् उपमेयर उमा थापामगरको बसोबार समेत उक्त अलपत्र र वेवारिसे भवन निर्माण वडामै हो । यद्दपी यस बिषयमा उनको समेत ध्यान जान सकेको छैन् ।

पहिलो पटक ठेक्का आव्हान गरिएपनि काम गर्न नसकेको भन्दै ठेकेदारले सम्झौता तोडेको बताउँदै उक्त भवन निर्माणका लागि अब फेरि टेण्डर आव्हानको तयारी भईरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले बताए । उचित भवन नहुँदा स्थानीयको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नु परेको छ अधिकृत चन्दले भने ‘भवन अभावले सेवा प्रवाह पनि सोचेअनुसार हुन सकेको छैन् । जेनतेन चलेको छ ।’