नेपालगन्ज : भारतबाट अवैध रुपमा तस्करी हुने कुखुराजन्य पदार्थ नरोकिँदा यहाँका कुखुरा व्यवसायी पीडित भएका छन् । जमुनाहबाट नभएपनि भित्री नाकाबाट खुलेयाम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको छ ।
ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि व्यवसाय धरापमा परेको कुखुरा व्यवसायी लक्ष्मी थापा बताउँछन् । बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले आफूहरु समस्यामा परेको व्यवसायीको भनाइ छ ।
सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका– १ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको छ । यसरी ल्याईएका कुखुरा नेपालगन्ज, कोहलपुर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुग्ने गरेको कोहलपुरका कुखुरा व्यवसायी रमेश खड्का बताउँछन् ।
तस्करी रोक्न प्रहरी उदासीन रहेको उनको भनाई छ । मुख्य सीमा नाकाबाट कुखुराजन्य पदार्थ भित्रिन नदिइएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक वसन्त बस्नेत बताउँछन् । तर, नियमति यसै नाकाबाट अबैद्य बस्तु नेपालगन्ज आर्यात भईरहेका छन् । भारतीय पक्षीजन्य वस्तु आयात रोक्न आफूहरू क्रियाशील रहेको पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी अमरबहादुर शाही बताउँछन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म २४ हजार ७० कुखुराका चल्ला नष्ट गरिएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्मको अवधिमा तयारी ब्रोइलर दुई हजार ८ सय २८, तयारी मासु ७४ किलो र सेतो अण्डा ८ सय २६ नियन्त्रणमा लिई नष्ट गरिएको उनले बताए । कार्यालयले आठ लाख ४८ हजार राजश्व संकलन गरेको छ ।