‘स्टोर रुम’ बन्दै शौचालय


‘स्टोर रुम’ बन्दै शौचालय

नेपालगन्ज : बाँके खुल्ला दिशामुक्त घोषणा भईसकेको छ । तर, यहाँका धेरै घरपरिवार अहिलेपनि शौचालयको पहुँचमा छैनन् । हचुवा र हतारमा बाँकेलाई खुल्ला दिशा मुक्त गरिएकै कारण अहिले अधिकाशं स्थानीय तहमा मात्रै होईन सदरमुकाम नेपालगन्ज र सहरउन्मुख कोहलपुरमा समेत आबश्यकता अनुसारका शौचालयको अभाव छ ।

कतिपय घरधुरी शौचालय विहीन छन । बनाएका कतिपय घरधुरीका शौचालय शौचका लागि प्रयोगमा आउन सकेका छैनन् । नेपालगन्ज वडा नम्बर आठका अधिकाशं घर अहिलेपनि शौचालयको पहुँचमा छैनन् । यो त उदाहरण मात्र हो उपमहनागरपालिका क्षेत्रमै यस्तो अवस्था विभिन्न वडामा रहेको छ ।

घरमा शौचालय बनाएका बाँकेका अधिकांश नागरिक शौचालय प्रयोगका बारेमा अनभिज्ञ छन् । कतिपय शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । कतिपय घरधुरीमा त शौचालय हेर्दा ‘स्टोर रूम’ जस्तै छन् । कतिपय शौचालय जीर्ण छन । मर्मतसम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ ।

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा घरधुरीमा निर्माण भएका कतिपय शौचालय प्रयोगमा छैनन् । कतिले बनाएकै छैनन्रु। यस क्षेत्रका कतिपय नागरिकले घरमा भएका शौचालयमा गाईभैंसीलाई आवश्यक पर्ने पराल, दाउरा लगायतका सामग्री राखने गरेको पार्वतपुरकी बेलकुमारी उपाध्याय बताउँछिन् ।

अनबिज्ञताको कमीले बाँकेका ग्रामीण क्षेत्रका नागरिक शौच गर्न बाहिरै खुला चोर तथा खेतमा जाने तर, घरमा भएका शौचालयमा
घरायसी प्रयोजनका सामान राख्ने गर्दै आएको कारँकादोका स्मृति डिसी बताउँछिन् । यो समस्या नेपालगन्ज उपमहानगरपालिकाका भित्र बस्तीका साथै कोहलपुर क्षेत्रका विभिन्न गाउँमा रहेको छ । कतिपय नागरिकले जसोतसो शौचालय बनाएपनि आर्थिक अभावले ती शौचालयमा ढोका र छानो समेत हाल्न नसकेको शम्सेरगन्जकी भागमती बर्मा बताउँछिन् ।

ढोका र छानो नहुँदा बाँकेमा धेरै घरधुरीमा बनेका शौचालय प्रयोगविहीन भईरहेका छन् । ढोकै नभएको शौचालय प्रयोग गर्नु असुरक्षित महसुस हुने गरेको महिलाहरू बताउँछन् । कतिपयको शौचालय प्रयोग नहुँदै जीर्ण भईसकेका छन् । आर्थिक अभावले जीर्ण शौचालयको मर्मत गर्न नसकिएको पुजा बर्मा बताउँछिन् ।

बस्तीकै पाका र वृद्ध ज्यागेश्वरलाल यादवले अधिकांशले शौचालय बनाए पनि प्रयोग र मर्मतको समस्या रहेको बताए । बाँकेलाई खुल्ला दिशा मुक्त घोषणा गर्ने होडबाजीमा केही सरकारी तथा गैरसरकारी संस्थाले शौचालय बनाएका थिए । तर, यसरी बनाईएका शौचालय प्रयोगमा छन कि छैनन्, यसको सदुपयोग भयो/भएन भननी अहिलेसम्म कसैलेपनि अनुगमन गर्न र बुझ्न नसकेको स्थानीय बताउँछन् ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले आम नागरिकमा शौचालय प्रयोगका लागि सचेतनाको आबश्यकता भएको बताए ।
उनले यसका लागि स्थानीय तह र सरसफाईसँग सम्बन्धीत सरकारी तथा गैरसरकारी निकायले ध्यान दिनुपर्ने बताए । यद्यपी, जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवाला कुनैपनि निकायले अहिलेसम्म यस्ता शौचालयको अनुगमन गर्न चासो देखाएका छैनन् ।