ठेकेदारको लापरबाहीले बसपार्क वेवारिसे


ठेकेदारको लापरबाहीले बसपार्क वेवारिसे

नेपालगन्ज : निर्माण कम्पनीले ठेक्का कबोल गरेको मितिले १५ महिनाभित्रै बसपार्कको काम सक्ने सम्झौता थियो । तर, उक्त समयमा काम पूरा नभएपछि दोस्रोपल्ट म्याद थपियो । त्यो समयमा पनि काम पूरा हुन नसकेपछि फागुनको अन्तिम समय दिएर तेस्रोपल्ट म्याद थप गरिएको थियो ।

१५ महिनामा सकिने योजना चार बर्षदेखि अलपत्र छ । ठेकेदारको लापरवाही, उपमहानगरपालिकाको उदासीनता र इन्जिनियरको निस्क्रियताले पछिल्लो अवधीमा पनि बसपार्कले पूर्णता पाउँन सकेन् । बसपार्क निर्माणका लागि १४ करोड ९४ लाख बजेट हो । बजेट सकियो काम अधुरै छ ।
बहाना र नौटकीमै चार बर्ष वितेका छन् । उपमहानगरपालिका पनि बेलाबखतमा ठेकेदारलाई या र त्यो धम्की दिन्छन । तर, ठेकेदारले बाल नदिदाँ उपमहानगरको धम्कीको प्रतिफल शून्यमै देखिएको छ ।

केही महिनाअघि काममा ढिलाइ गरिए निर्माण कम्पनीलाई हर्जाना लगाएर भए पनि काम गराउँने कडा शब्दको खेती गरेको उपमहानगरपालिका म्याद सकिएर काम अलपत्र हुँदापनि अहिले रूझेको विरालो झै चुप बसेको छ । उपमहागरपालिकाले न ठेकेदारलाई कारवाही गरेको छ नत बसपार्क नै तोकिएको समयमा पुरा भयो कारकाँदोका स्थानीय स्मृति डिसीले भनिन् ‘सबैका गफै त हुन ।’ फागुन १६ गते मयाद सकिएको भएपनि २७ गतेसम्म उपमहानगरपालिका बसपार्कका बिषयमा उदासीन छ ।

अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माणका लागि युनाइटेड बिल्डर्सले ठेक्का पाएको थियोरु। साढे ४ बिघा क्षेत्रफलमा निर्माण भइरहेको बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेना गृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्ने लक्ष्य रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल बताउँछन् ।

निर्माणको काम पूरा नहुँदा बसपार्क क्षेत्रमा ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै आएको छ । सडकभरि सवारी साधन राखिएका कारण आउजाउमा समेत समस्या हुने गरेको छ । नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण शुरू गरिएको हो । दुई दशक पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्न नसकेकाले नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण शुरू गरिएको हो । तर, बसपार्क कहिले पुरा हुन्छ अझै निश्चित छैन् ।