दुई सय कैदी राख्दै बैशाखमा क्षेत्रीय कारागार सञ्चालन गरिने


दुई सय कैदी राख्दै बैशाखमा क्षेत्रीय कारागार सञ्चालन गरिने

File Photo

नेपालगन्ज १६ माघ : बाँकेमा निर्माणाधिन क्षेत्रीय कारागार आगामी बैशाखबाट सञ्चालनमा ल्याउने तयारी गरिएकोछ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–३ नौबस्तामा निर्माणाधिन उक्त क्षेत्रीय कारागारको दोस्रो फेज अन्र्तगत निर्माणाधिन २५ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेकोछ ।

दोस्रो फेज अन्र्तगत भवन निमार्णको कार्य अन्तिम चरणमा पुगेपछि कारागार विभागले आगामी बैशाखबाट कैदी राख्ने तयारी समेत गरेको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना इकाई बाँकेका इन्जिनियर सुदीप झाका अनुसार उक्त कारागारमा प्रशासनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरीका लागि दुई–दुई तले एक–एक वटा भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

इन्जिनियर झाका अनुसार एउटा युनिटमा दुई तले दुई वटा जेल ब्लक, दुई तले शौचालय, दुई तले एउटा वर्कशप र एक तले डाइनिङ रुम गरि एक युनिटमा पाँच वटा भवन निर्माण भइरहेको छ ।

‘दोस्रो फेजमा यस्ता चार वटा ब्लक निर्माण भइरहेका छन् । चार वटै ब्लकमा ७० प्रतिशत काम पूरा भइसकेकोछ ।

यतिबेला कारागारमा सेक्यूरिटी वाल, सेनेटरी, इलेक्ट्रिक्स, र फिनिसिङको काम भइरहेको छ । कामको प्रकृति हेर्दा बैशाखसम्म दोस्रो फेज अन्तरगतका सम्पूर्ण संरचना निर्माण परा हुदैछ ।

१० बिगाह क्षेत्रफलमा बन्न लागेको क्षेत्रीय कारागारमा तीन हजार कैदीबन्दी अट्ने क्षमता छ । २०७६ कात्र्तिक ८ गते निर्माण सम्पन्न गर्ने गरि रसुवा–पप्पु कन्स्ट्रक्सन जेभीले मूल्य अभिबृद्धि कर बाहेक ३८ करोड ६८ लाख ७९ हजार दुई सय ८१ रूपैयाँमा ठेक्का लिएको थियो ।

ज्वाइन्ट भेन्चर अन्तरगत रसुवा–पप्पुले ठेक्का पाए पनि निर्माणको जिम्मा पप्पुलाई दिइएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न हुनेगरि ठेक्का लिए पनि सो अवधिमा पप्पुले ५ प्रतिशत मात्र काम भएपछि अहिले रसुवाले काम गरिरहेको छ ।

रसुवा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर विनोद ज्ञवालीका अनुसार लकडाउनले निर्माणमा केहि समस्या सिर्जना भएपनि आगामी बैशाख पहिलो साता संरचना हस्तान्तरण गर्ने योजना रहेकोछ ।

यसैबीच, नेपालगन्ज कारागारमा रहेका दुई सय कैदीलाई बैशाख पहिलो साता स्थानान्तर गर्ने तयारी गरिएको छ । अदालतबाट कैद सजाय पैmसला भई नेपालगन्ज कारागारमा रहेका कैदीलाई त्यहाँ स्थानान्तर गरिने छ ।

आचरणमा सुधार भएका र कारागारमा रहेका जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखि पहिलो चरणमा दुई वटा जेल ब्लक सञ्चालन गर्ने योजना छ ।

यता, गनापुरमा निर्माण भएको खुल्ला कारागारलाई थप ब्यवस्थित बनाएर बैशाखदेखि केही कैदी त्यहाँ राख्ने तयारी भएकोछ । आचरणमा सुधार भएका र कैद भुक्तान गर्न थोरै समय बाँकी रहेकालाई खुल्ला कारागारमा राखिने तयारी भएको नेपालगन्ज कारागार प्रशासनले जनाएकोछ ।

खुल्ला कारागारमा बस्ने कैदीले दिनभर काम गर्ने, बेलुकी कारागारमा हाजिर हुने र रातभर परिवारसँग बस्न पाउनेछन् ।