पत्रकार महासंघ किर्ते हस्ताक्षर प्रकरण: छानबीन समिति गठन


पत्रकार महासंघ किर्ते हस्ताक्षर प्रकरण: छानबीन समिति गठन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रम अन्तरगत उपलब्ध गराएको रकम अनियमितता भएको सम्बन्धमा अनुसन्धान गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य कौशल कुमार धोवीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्र, कार्यपालिका सदस्य ईन्दिरा शाही, देवेन्द्र पाल सिंह सरदार र उपमहानगरपालिकाको सामाजिक शाखाका अधिकृत कृष्ण जोशी रहेका छन् ।

उपमहानगरपालिकाको शनिबार बसेको बोर्ड बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । उपमहानगरपालिको रकम अनियमितताबारे उपमहानगरपालिकाको कार्यालय नै मौन रहेको भन्दै आधिकारिक धारणा सार्वजनिक गर्न चौतर्फी दवाव बढ्दै गर्दा छानबिन समिति गठन भएको हो ।

समितिले ७ दिनभित्र अनियमितता प्रकरणको अनुसन्धान गरेर पेश गर्ने प्रतिवेदनका आधारमा कारबाही अघि बढाईने उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । प्रवक्ता रिजालका अनुसार उपमहानगरपालिकाका जिम्मेवार व्यक्ति दोषी पाईए आन्तरिक कारबाही गर्ने र अरु दोषी पाईए सोही अनुसार कारबाहीका लागि सम्बन्धित ठाउँमा सिफारिस गरिने छ । ‘छानबिन समितिले ७ दिनभित्रमा प्रतिबेदन बुझाउने छ । प्रतिवेदनले निक्र्यौल गरेको सत्यतथ्य हामी सार्वजनिक गर्छौं । र, कारबाही प्रक्रिया अघि बढाउँछौं ।’, प्रवक्ता रिजालले भने ।

नेपाल पत्रकार महासंघ बाँके शाखालाई उपलब्ध गराईएको रकममध्ये ‘मिडिया दिगो विकास र यसका चुनौती’ विषयक छलफल कार्यक्रमको रकम अनियमितता भएको सार्वजनिक भएपछि उपमहानगरपालिकाले छानबिन समिति गठन गरेको हो ।

महासंघका पदाधिकारीले किर्ते हस्ताक्षर गरेर कार्यक्रममा उपस्थित भएका र नभएकाहरुको पनि भत्ता बापतको रकम अनियमितता गरेको बताईएको छ । महासंघ बाँके शाखाले भने आफूले संयोजनकारी भूमिकामात्र निर्वाह गरेको भन्दै अनियमितताको दोष उपमहानगरपालिकामाथि नै लगाउँदै आएको छ । यद्यपी उसले किर्ते हस्ताक्षरको बारेमा भने अहिलेसम्म मुख खोलेको छैन ।