मानवअधिकारको अवस्था अझैं चिन्ताजनक, लुम्बिनी प्रदेशमै एक हजार बढी पीडित


मानवअधिकारको अवस्था अझैं चिन्ताजनक, लुम्बिनी प्रदेशमै एक हजार बढी पीडित

नेपालगन्ज ७ फागुन : नेपालमा मानवअधिकारको अवस्था चिन्ताजनक रहेको पाइएकोछ । ईन्सेक नेपालगन्जले शुक्रबार नेपालगन्जमा सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण यस्तो पाइएको हो ।

सार्वजनिक पुस्तकमा सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको उल्लेख छ ।

त्यसमा मानव अधिकार उल्लंघनका घटनामा ६ सय ७५ जना छन् भने ज्यादतीका घटनामा ४ हजार ८ सय ६८ जना छन् । यस मध्ये लुम्बिनी प्रदेशमा मानव अधिकारी र ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको इन्सेकले अभिलेखीकरण गरेको छ ।

गिरफ्तारीका घटनामा ९१ जना, महिला अधिकार उल्लंघनका घटनामा ८ सय ८४, हत्याका घटनामा अन्य पक्षबाट ४१ जना र बालअधिकार उल्लंघनका घटनामा २ सय ८० जना पीडित भएको अभिलेख छ । जसमा २ सय ५८ जना बालबालिका बलात्कार तथा यौन दुब्र्यवहारबाट पीडित भएका छन् । त्यस्तै १ सय ५७ जना महिला बलात्कार र बलात्कार प्रयासबाट पीडित भएको तथ्यांक छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

वर्ष पुस्तकमा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिने गरिएका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल नभएको पाइएको उल्लेख छ । क्षमता ११ हजारको भएपनि २३ हजार हाराहारीमा कैदीबन्दी रहेको पाइएको इन्सेकको भनाई छ । सशस्त्र द्वन्दको समाप्ती भएको लामो समय वितिसक्दा पनि संक्रमणकालीन न्यायका सवालमा खासै प्रगति हुन नसकेको इन्सेकको निष्कर्ष छ ।

सन् २०२० मा कोभिड महामारीका कारण मानव अधिकार उल्लंघन तथा ज्यादतीका सबै घटनाहरु कानूनी प्रक्रियासम्म नआइपुग्नुका साथै घटनाहरुको अनुगमन तथा प्रलेख गर्ने कार्यमा समेत बाधा पुगेका कारण घटनाहरुको संख्यामा कमी देखिएको इन्सेकको अनुमान छ ।

नेपालगन्जमा इन्सेकद्वारा सार्वजनिक नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ मा यस्तो तथ्य बाहिरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रजातन्त्र दिवसका दिन सार्वजनिक गर्दै आइरहेको वर्ष पुस्तक यस वर्ष पनि शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो ।

इन्सेकले सन् १९९२ देखि हरेक वर्ष मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ । सात वटै प्रदेशमा शुक्रबार उक्त पुस्तक सार्वजनिक गरिएको इन्सेक नेपालगन्जका संयोजक भोला महतले जानकारी दिए ।

नेपालगन्जमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश मनकुमारी जिएम विकले पुस्तक सार्वजनिक गरिन् ।

प्रतिबद्धताप्रतिको जवाफदेहितामा केन्द्रित रहेर प्रकाशन गरिएको पुस्तकमा दण्डहिनताको निरन्तरता, संक्रमणकालीन न्याय र मानव अधिकार आयोगको सिफारिसप्रतिको बेवास्ता, मानव अधिकार सम्बन्धि राष्ट्रिय कार्ययोजना, कोभिड १९ र मानव अधिकारको अवस्था, विधिको शासन र लोकतान्त्रिक अभ्यास, तेस्रो विश्वव्यापी आवधिक समीक्षा लगायतका विषयबस्तु समेटिएको इन्सेक लुम्बिनी प्रदेश प्रमुख महतले जानकारी दिए ।

मानव अधिकार अवस्थाको विश्लेषण तथा मापन गर्ने कुनै भरपर्दो तथ्य र तथ्यांकको अभाव रहेको महसुस गर्दै इन्सेकले हरेक वर्ष पुस्तक प्रकाशन गर्दै आएकोछ ।
सो अवसरमा लुम्बिनी प्रदेशमा उत्कृष्ट कार्य गरे बापत पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ती तिमिल्सिनालाई सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा अधिकारकर्मीहरु सुरेशकुमार गौतम, वसन्त गौतम, मैमुना सिद्दिकी लगायतले स्थानीय निकायमा भ्रष्टाचार मौलाउदै जानु, शुसाशन कायम नहुनु जस्ता बेतिथिहरु बढ्दै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।