वर्षा सगै हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा


वर्षा सगै हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

नेपालगन्ज: पछिल्लो समय देशभरको मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना हुने औंल्याएको छ ।

महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने बताएकोछ ।

मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षा समेत हुनेछ । बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ ।

पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ । बिहीबार पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

मौसममा आएको बदलीका कारण हुम्लामा पुनः हिमपात भएको छ । यसअघि जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ ।
हिजो सोमबार हुम्लामा दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरु भएको छ । चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा समस्या भएकोछ । वर्षासगैं हिउ पर्दा चिसो बढेको छ भने चिसोले गर्दा परीक्षार्थीलाई लेख्न समस्या बनाएको छ । सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ ।

जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।