नेपालगन्ज: जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे ‘बाघे माउसुली’ बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । बाघको जस्तै सुन्दर पाटा भएकाले यसलाई बाघे माउसुली नाम राखिएको छ ।
युब्लिफेरिडे परिवार अन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ । नेपालमा पाइने माउसुलीमध्ये यो ११औँ प्रजाति भएको सरिसृपविज्ञ करण शाहले जानकारी दिए ।
अहिलेसम्म विश्वमा ३८ प्रजाति माउसुली भेटिएको छ । यो माउसुली भारत, बङ्गलादेश, पाकिस्तान, इरान, अफगानिस्तान, तुर्कमिनिस्तानमा पाइन्छ । रातीमा सक्रिय हुने र दिनभरि सुत्ने तथा अरु मासुलीजस्तो घरको भित्तामा नबसी जमीनमा बस्ने यसको विशेषता हो ।
बाँकेको काम्दिपछि सुनवल, नवलपरासी र सुर्खेतको गुर्भाकोट तथा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रमा समेत बाघे माउसुली भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावत, सरिसृपविज्ञ करणबहादुर शाह र कुलबहादुर थापा तथा कोषका सन्तोष भट्टराई सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति भेटिएको पुष्टि गरेका छन् । उक्त माउसुलीको बारेमा अमेरिकन जर्नल रेप्टाइल्स तथा अम्फिबिअन्समा सोमबार मात्र प्रकाशित भएको छ ।
‘सुरुमा रेञ्जर यमबहादुर थापाले यसको फोटो खिचेर फेसबुकमा हालेका थिए, नयाँ प्रजाति हो भनेर मैले भनेपछि उनले फेसबुकबाट हटाए, त्यसपछि अनुसन्धान गर्दा नेपालकै नयाँ प्रजाति पुष्टि भयो,’ शाहले भने ।
सुख्खा क्षेत्रमा बासस्थान बनाएर बस्ने यो प्रजातिको अन्तर्राष्ट्रिय बजारमा वैध तथा अवैध दुवै खाले व्यापार हुने गरेको बताइएको छ । नेपालको भारतसँग खुला सीमाना रहेकाले र संरक्षित क्षेत्र बाहिर भेटिएकाले अवैध व्यापार हुनसक्ने जोखिम रहेको भन्दै संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।
अहिलेसम्म तीन ठाउँबाट पाँचवटा मात्र भेटिएको यो प्रजातिलाई स्थानीयवासीले विषकोब्रा नामले चिन्ने तथा विषालु हुन्छ भन्ने भ्रमका कारण देख्ने बित्तिकै मार्ने गरेको अनुसन्धान टोलीले जनाएको छ । चुरे क्षेत्र यो प्रजातिका लागि उपयुक्त बासस्थान रहेकाले अन्य चुरे क्षेत्रमा पनि यसको बासस्थान हुनसक्ने देखिन्छ । नदी किनारबाट गिटीबालुवा झिक्दा घाइते अवस्थामा फेला परेकाले चुरे क्षेत्रको अत्यधिक दोहनले यीनको बासस्थान सगै लोप हुनसक्ने खतरा छ ।
जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र सरिसृप प्रजातिको अध्ययन अनुसन्धानमा सरकारको ध्यान जानुपर्ने संरक्षणकर्मीले बताउँछन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा