अख्तियारका ५ सय उजुरी अलपत्र


अख्तियारका ५ सय उजुरी अलपत्र

नेपालगन्ज : अख्तियारको कार्यालय बुटवलमा आर्थिक बर्ष २०७५/०७६ मा को फागुन मसान्तसम्म एक हजार एक उजुरी दर्ता भएका छन् ।
जसमा स्थानीय हतका उजुरीको संख्या बढी देखिएको छ ।

दर्ता भएकामध्ये अहिलेसम्म चार सय ९२ वटा उजुरी फरफार भएका छन् । यसरी फरफार भएकामध्ये अख्तियारले आठ जना प्रतिवादीबाट ३९ लाख ७७ हजार पाँच सय रुपैयाँ असुल गरेको छ ।  १८ प्रतिवादीको बिगो मुुद्दा दायर दाबीबाट तीन करोड २६ लाख ६८ हजार तीन सय पाँच रुपैयाँ र असुुलउपर ९६ लाख दुई हजार तीन सय १४ रुपैयाँ गरिएको छ ।

तर, अहिले पनि करिब पाँचसय उजुरी फरफार नहुँदा अलपत्रै छन् । संघीय मामिला तथा स्थानीय तहअन्र्तगत तीन सय ५७ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका उपसचिव नारायणप्रसाद पाण्डे बताउँछन् ।

उनकाअनुसार जसमा एक सय ५३ वटा मात्रै फच्छ्यौट भएका छन् । शिक्षा मन्त्रालय मातहत निकाय बिरूद्ध तीन सय १० वटा उजुरीमा एक सय ३८ वटा उजुरी फरफार भएका छन् । भुमीसुधार सम्बन्धी ८५ वटा उजुरी परेकोमा ४३, भौतिक पुर्वाधार विकाससम्बन्धी ५० वटा उजुरी परेकोमा ३१, वन वातावरण सम्बन्धी ४९ वटा उजुरी परेकामा ३१, उर्जासम्बन्धी कुल ३४ वटा उजुरीमा २४, स्वाथ्यसम्बन्धी ३३ वटा उजुरी परेकोमा १५, गृह मन्त्रालयसम्बन्धी २८ वटा उजुरी परेकामा २४, कृषि मन्त्रालय सम्बन्धी १४ वटा उजुरी परेकामा ११ र अन्य ४१ वटा उजुरी परेकामा २२ वटा उजुरी फरफार भएका छन् ।

बाँकेमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । कार्यालयमा दर्ता हुने उजुरीको आधारमा जिल्ला संमन्वय समिति र स्थानिय तहमा बढि भष्ट्राचार हुन्छ भन्न कुनै आपत्ती नभएको उनको भनाई छ ।अख्तियारमा आउने उजुुरीमध्ये धेरै चिठीपत्रका बढी छन् । चिठीबाट आठ सय ८४, इमेलबाट ८१, फेसबुकबाट चार, टेलिफोनबाट १३, पत्रपत्रिकाबाट ११ र फयाक्सबाट आठ वटा उजुरी आएका छन् ।