सुदृढ बारका लागि लोकतान्त्रिक समूलाई जिताऔंः उपाध्यक्षका उम्मेदवार सुनीलकुमार श्रेष्ठ


सुदृढ बारका लागि लोकतान्त्रिक समूलाई जिताऔंः उपाध्यक्षका उम्मेदवार सुनीलकुमार श्रेष्ठ

नेपालगन्ज: नेपाल बार एशोसियसनको निर्वाचन संघारमै छ । चैत्र १६ गते हुने नेपाल बार एसोसियसनको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न लोकतान्त्रिक समूह र प्रगतिशील समूह जोडतोडले लागेका छन् । प्रचारप्रसारलाई देशव्यापी बनाएका दुबै समूहले निर्वाचन संघारमै आइपुग्दा अन्तिम चरणको प्रचारप्रसारलाई तीब्रता दिएका छन् ।

बृहत् लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार सुनील कुमार पोखरेल र प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । चुनावी मैदानमा होमिएका थुप्रै उम्मेदवारहरु मध्ये एक हुन् पश्चिम नेपालकै लोकप्रिय नेपालगन्जका कानून व्यवसायी सुनीलकुमार श्रेष्ठ ।

श्रेष्ठले बृहत् लोकतान्त्रिक समूहबाट ५ नम्बर प्रदेशको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकाछन् । नेपालगन्जमा रहेर कानून कर्ममा आफूलाई निरन्तर अब्बल सावित गरिरहेका श्रेष्ठ सबै कानून व्यवसायी माझ परिचित र लोकप्रिय छन् । कानून कर्ममा अनुभवी श्रेष्ठ मृदुभाषी, मिलनसार र सहयोगी भएको उनका सहकर्मीहरु बताउँछन् ।

तत्कालीन पुनरावेदन बार इकाई नेपालगन्जका अध्यक्ष समेत भएका श्रेष्ठले न्यायापालिकाको शाख र गरिमा जोगाउँदै वकालती पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘मेरो उम्मेदवारी देशभरका कानून व्यवसायीहरुको हितका लागि हो, बारलाई व्यवसायिक र सबै कानून व्यवसायीको अधिकतम् हितको पक्षमा लबिङ्ग गर्ने मेरो संकल्प हो, पेशागत दक्षता र सुरक्षा दुबैमा मेरो चासो छ । ’

श्रेष्ठले बारलाई नीति केन्द्रित बनाउने आफ्नो समूहको मुख्य एजेण्डा भएको प्रष्ट्याए । ‘बारलाई नीति र एजेण्डा दिने नेतृत्व वकिल साथीहरुले खोजीरहनुभएको छ, ब्यक्ति केन्द्रित होइन, प्रणाली सुधारका पक्षमा हामी छौं,’ उनले भने, ‘हामी बार र न्यायालय सुधारका लागि प्रतिबद्ध छौं ।’ अग्रज कानून व्यवसायीहरुको सम्मान तथा नवोदित कानून व्यवसायीहरुलाई पेशामा स्थापित गर्ने विषय पनि आफूहरुको मुख्य एजेण्ड भएको उनले बताए । ५ नम्बर प्रदेशका सबै जिल्लाहरुलाई एकिकृत र संगठित गर्दै प्रभावकारीरुपमा अघि बढाउने तथा नेपाल बार एसोसियसन र स्थानीय बारलाई जोड्ने पुलको रुपमा काम गर्ने अवसरका रुपमा आफूले आफ्नो उम्मेदवारीलाई लिएको उनले बताए ।

निर्वाचनमा आफू र आफ्नो समूहलाई मतदान गरी विजयी गराउन सबै मतदातालाई श्रेष्ठले आग्रह गरे । ‘हाम्रो समूहमा अब्बल र अनुभवी साथीहरु हुनुहुन्छ, भौगोलिकदेखि जातीय समावेशी हाम्रो समूहमा छ, त्यसैले सक्षम र दृढ संकल्पित बृहत् लोकतान्त्रिक समूहलाई विजयी गराउन यहाँहरुको अमूल्य मतको अपेक्षा गर्दछौं,’ श्रेष्ठले भने ।

‘म पुनराबेदन बारमा हुँदा म र मेरो कामलाई साथीहरुले नजिकबाट नियाल्नुभएको छ, म सुखदुःखमा सधैं कानून व्यवसायी साथीहरुसंगै छु, मलाई विश्वास छ की उहाँहरुले आफ्नो अमूल्य मत दिएर उहाँहरुकै सेवामा समर्पित हुुने मौका मलाई दिनुहुन्छ, ५ नम्बर प्रदेशको बारलाई सशक्त र प्रभावकारी बनाउने अवसर दिनुहुन म सबै समक्ष आग्रह गर्दछु, आफूलाई मतदान गर्न अनुरोध गर्दै श्रेष्ठले मतदातालाई भने । सबै कानून व्यवसायीहरुको माया, सद्भाव, साथ, सहयोग र आशिर्वाद आफ्नो जित्ने आधार भएको उनले बताए ।