बेसरम नगरः १५ महिने काम, तीन वर्षसम्म अधुरै


बेसरम नगरः १५ महिने काम, तीन वर्षसम्म अधुरै

नेपालगन्ज : १५ महिनामा सक्ने गरी निर्माण सुरु गरिएको नेपालगन्ज बसपार्कको काम तीन वर्षसम्म पनि अधुरै छ । १५ महिनाभित्र सक्नेगरी पहिलोपटक नेपालगन्ज उप–महानगरपालिका र युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियर्स बिच सन् २०१६ मार्चमा सम्झौता भएको थियो ।

निर्माण सुरु भएकोे तीन बर्ष बितीसक्दा समेत झण्डै ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले भने ठेकेदारका कारण निर्माण कार्यमा ढिलाई भएको बताउँदै आएको छ ।

स्थानीयबासी भने बसपार्क निर्माण कार्य ढिलार्इ हुनुमा नेपालगन्ज उपमहानगरपालिका र निर्माण कम्पनीलाई आरोप लगाउँछन् ।
स्थानीय केशव गिरीले भने बसपार्क निर्माणको क्रममा कमसल साम्रगी प्रयोग गरिएको भन्दै त्यसबारे उपमहानगरपालिकाका मेयर प्रमुख डा.धवलशमशेर राणालाई जानकारी गराउँदा कुनै चासो नदिएको उनले गुनासो गरे ।

नगर विकास कोषको ऋण सहयोगमा उपमहानगरपालिकाले १४ करोड ९४ लाखमा ठेक्का दिएको हो । बसपार्कमा अहिले शौचालय, पानी र यात्रु बस्ने सुरक्षित ठाउँको अभाव छ । फोहोर र धूलो उस्तै छ । बसपार्कमै किराना पसल चलाएकी सविता चन्दले भनिन्, ‘समयमै निर्माण नहुँदा
सर्वसाधारणसहित आफूहरू दैनिक धूलोको सिकार हुनुपरेको छ ।’

बसपार्क निर्माण नहुँदा व्यवसायीलाई घर भाडासमेत तिर्न धौधौ भएको उनले बताइन् । उपमहानगरपालिले पछिल्लो समय माघभित्र काम सक्ने गरी म्याद थपे पनि सुस्त गतीमा काम भइरहेकाले अंझै पनि बषपार्क निर्माण सम्पन्न हुनेमा स्थानीयहरु शंका व्यक्त गर्दछन् ।
नेपालगन्ज उपमहानगरपालिका राणाले अब भने कुनै समस्या नभएका कारण समयमै बसपार्क निर्माणको काम सकिने बताउँदै आएपनि हालसम्म बसपार्कको काम भने ८० प्रतिशत मात्र भएको छ ।

एक सय ४३ वटा बसलाई पाकिङ गर्ने हिसावले नयाँ टर्मिनल भवन बन्दैछ । त्यसमा आधुनिक किसीमको टिकट काउन्टर, तिन वटा सपिङ् भवन बनाइने छ ।  चारैतिर पर्खाल लगाएर बसपार्क एरीयालाई कबर गरिने छ । बसपार्कका कसल्टेन्ट इन्जिनियर धनबहादुर भट्टराईले पछिल्लो पटक थपेको म्याद अनुसार निर्माणको काम सक्ने गरी काम भइरहेको बताए ।