एसईइ प्रश्नपत्र आउट हुदाँ प्रदेश २ तनावग्रस्त
जनकपुरधाम: अन्य प्रदेशमा यस वर्षको एसईइ परीक्षा शान्तिपूर्ण भइरहदाँ नेपालको पूर्वी प्रदेश अर्थात प्रदेश २ मा लगातार प्रश्नपत्र आउटको घटना बाहिरिएकोछ ।
लगातार प्रश्नपत्र आउट हुँदा सो प्रदेशका परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन समेत गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षाभने रद्द गरिएको छ । आज शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि पुनः शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गर्दा विद्यार्थी आन्दोलित भएका हुन् ।
विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
बिहान ८ बजेदेखि नै यी दुई ठाउँमा चक्काजाम गरिएपनि कल्याणपुरको चक्काजाम प्रहरीले खुलायो । खरचुहियामा निरन्तर चक्काजाम रहेका कारण यात्रुहरुले सास्ती भोग्नुपरिरहेको छ ।

मन्त्री पोखरेलको पुत्ला जलाइयो
यसैबीच प्रश्नपत्र आउट हुदाँ परीक्षामा सम्मलित हुन नपाएर आक्रोशित बनेका परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् ।
राजविराजबाट पनि विद्यार्थीहरुले सवारी चल्न दिएका छैनन् । ठाउँ–ठाउँमा टायर बालिएका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैनन् ।
राज्यमन्त्रीको गाडी तोडफोड
यस्तै परीक्षा स्थगित गरिएको बिरोधमा आन्दोलनरत परीक्षार्थीले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् ।
धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गर्दा राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरीले जनाएको छ ।
जनकपुरधामको पनि बिभिन्न चोकमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । चोकहरुमा टायर बालेर उनीहरुले प्रदर्शन गर्दै शिक्षा मन्त्रीबिरुद्ध नाराबाजी गरेका छन् ।
बारामा अश्रुग्यास प्रहार
लगातार एसईई परीक्षा स्थगित भएपछि बाराका विद्यार्थी आन्दोलनमा उत्रेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको हो । आक्रोशित बनेका विद्यार्थीहरु तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप हुदाँ एक प्रहरी जवान र केही विद्यार्थीहरु घाइते भएका छन् ।
झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् । विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड समेत गरेका छन् । विद्यार्थीहरुले प्रहरीको ना १ झ ७१२ नम्बरको गाडीमा आगजनी गरेका छन् । परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज पथलैया सडक अवरुद्ध गर्दै प्रहरीमाथि नै ढुंगामुढा गरिएपछि प्रहरीले भीड नियन्त्रण गर्न केही थान अश्रु ग्यास प्रहार गरेको छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा